काठमाडौं : तराई–मधेसका जिल्लामा व्यापक रूपले बढिरहेको शीतलहरका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । प्रभावितलाई सरकारले बेवास्ता गरेको गुनासो आइरहेका बेला नेपाल परिवार दलले भने शीतलहर प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको परिवार दलका उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूको बैठकले सो निर्णय गरेको हो । पूर्वमन्त्री एवं दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले तराई–मधेशका रौतहट, बारा, पर्सा, सप्तरी, सिरहा, धनुषा र महोत्तरी लगायतका जिल्लाका शीतलहरबाट प्रभावित परिवारलाई भेटेर कम्तीमा ५ सय थान कम्बल वितरण गरिने निर्णय गरेको हो ।
माघ २ गतेबाट राहत सामग्री उल्लिखित जिल्लामा वितरण गरिने दलका महामन्त्री विनोद डाँगीले जानकारी दिए । उनका अनुसार राहत सामग्री संकलन भइरहेको छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले दिएको मतादेशको कदर गर्दै उनीहरूलाई मर्का परेको बेला साथ दिनु आफूहरूको कर्तव्य रहेको ठहर गरी परिवार दलले राहत वितरण गर्न लागेको हो ।
बैठकले निर्वाचन सफल पार्न भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद समेत दिएको छ । साथै ताजा जनादेशको आधारमा नयाँ वामपन्थी सरकारको गठनका लागि सरकारले मार्गप्रशस्त गर्नुपर्ने कुरामा पनि जोड दिइएको छ ।