संकटबाट गुज्रिँदै अर्गानिक कृषि फार्म

प्रकासित मिति: २५ चैत्र २०७४, आईतवार १४:४५

‘सरकारले वर्षेनी प्रदान गर्दै आएको अनुदान वापतको रकम वास्ताविक कृषकलाई भन्दा झोले कृषककै पोल्टामा पर्ने गरेको छ । सरकारले अनुदान नदेओस् तर किसानका लागि सहुलियत ब्याजदर पाँच प्रतिशत मात्र कायम गरोस् अनि खेतीतर्फ ध्यान पुग्छ र बेरोजगार युवा विदेश जान छोड्छन् ।’

काठमाडौं ः कृषिप्रधान देश भनेर कहलिएको नेपालमै आजकल ‘कृषि पेशा’ भन्नेबित्तिकै नाक खुम्च्याउने प्रवृत्ति अधिकांश नेपालीमा छँदैछ । तर पछिल्लो समय युवापुस्तामा भने यो सोच फेरिँदै गएको देख्न सकिन्छ ।
नेपालका बौद्धिक वर्गले आफ्ना छोराछोरीलाई अरूका सामुन्ने चिनाउन डाक्टर, इन्जिनियर, पाइलट आदि भन्न मन पराउंछन् र आफ्ना छोराछोरीलाई विदेश पठाउँदा आफ्नो शिर उच्च भएको ठान्दछन् । तर कृषिप्रतिको धारणा फेरिएको छैन । युवाहरु विदेश पलायनको लर्को नै छ, चाहे अध्ययनको सिलसिलामा होस् या कामको सिलसिलामा ।
तर केही सचेत र विदेशबाट फर्केका युवाहरू भने कृषि व्यवसायमा आर्कषित भएका छन् । दुई वर्ष दुबईमा ड्राइभर पेशा गरेर स्वदेश फर्केका सुकबहादुर तामाङलगायतका पाँचजना मिलेर काठमाडांैको तारकेश्वर नगरपालिका– १, साङ्ला खोलामा विगत ७ वर्षदेखि पञ्चमुखी कृषि उद्योगमार्फत गाई फार्म तथा तरकारी खेती गर्दै आएका छन् ।
१० रोपनी ४ आना क्षेत्रफलमा रहेको पञ्चमुखी अर्गानिक एन्ड काउ फार्म ७२ लाख लगानीमा थालिएको हो । फार्ममा हाल १७ गाई छन् । तीमध्ये ४० प्रतिशत दुहुना रहेको र फार्मबाट दैनिक एक सय १० लिटरसम्म दूध उत्पादन हुने गरेको सञ्चालक नुरप्रसाद रिमालले बताए । उनका अनुसार, उत्पादित दूध स्थानीय बस्तीमा नै बिक्री हुँदै आएको छ । फार्ममा भएका गाईहरू होष्टायण्ड र जर्सी जातका हुन् । होलष्टायण्ड जातको एउटा गाईले दैनिक करिब २० देखि ३४ लिटर र एउटा जर्सी गाईले १२ देखि १६ लिटरसम्म दूध दिने गरेको उनले बताए । फार्ममा अहिले ७ जना कामदारले नियमित रूपमा रोजगारी समेत पाएका छन् । तर सरकारी पक्ष तथा अन्य निकायबाट पर्याप्त सहयोग नपाउँंदा यो फार्म संकटबाट गुज्रिरहेको सञ्चालक रिमाल बताउँछन् ।
कृषि तथा पशु पालनमा व्याप्त विभेदकारी सरकारी नीतिका कारण आफूहरू संकटमा पर्दै गएको फार्मका सञ्चालक रिमाल बताउँछन् । उनले भने, सरकारले हामीलाई अनुदान नदेओस् तर किसानका लागि सहुलियत ब्याजदर पाँच प्रतिशत मात्र कायम गरोस् अनि मात्र खेतीतर्फ ध्यान पुग्छ र बेरोजगार युवा विदेश जान छोड्छन् । सरकारले कृषकको लागि ऋणको ब्याज धेरै बनाएकोमा उनले चिन्ता व्यक्त गरे । कुनै बेला दरिलो जोस–जाँगर लगाएर मेहनत गर्ने हो भने स्वदेशमा नै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेको पञ्चमुखी अर्गानिक एन्ड काउ फार्म यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ भने यसका सञ्चालक युवा पनि निराश हुँदै गएका छन् ।
वर्षेनी लाखांै नेपाली युवा देशमा रोजगारी वातावरण नदेख्दा विदेशिनु परेको छ भने केही गरिरहेका युवालाई पनि सरकारी नीतिले निराश बनाएको छ । ‘हुन त अर्काको देशमा घरपरिवार छोडेर दुनियाँको गाली खाँदै पसिना बगाउनुभन्दा आफ्नै देशमा परिवारको साथमा बसेर सकेको कमाउनु राम्रो हो,’ उनी भन्छन्, ‘तर यहाँ काम गर्ने वातावरण अझै बन्न सकेको छैन, श्रम र पेशाको सम्मा गर्नुपर्छ भन्ने धारणा पनि विकसित हुन सकेको छैन । सरकारी नीतिका कारण पनि अनेक बाधा, अड्चनबाट गुज्रिनुपरेको छ ।’
सञ्चालक रिमाल लगानी जुटाउन सके गाईको संख्या अझै बढाउने सोचमा छन् । पैसाकै अभावले गाई फार्म राम्रो बनाउन नसकेको तथा तरकारी उत्पादनमा पनि लाग्न नसेको उनले बताए । सरकारले वर्षेनी प्रदान गर्दै आएको अनुदान वापतको रकम वास्ताविक कृषकको हातमा भन्दा पनि झोले कृषकको हातमा पर्ने गरेकोमा उनले गुनासो पोखे । दुध तथा तरकारी बिक्रीबाटै मासिक २ लाख आम्दानी हुने गरेको भए पनि सोही अनुपातमा खर्च हुने गरेकोले बचत गर्दै थप लगानी जुटाउन नसकेको उनले बताए ।
हाल उनको फार्ममा उत्पादित तरकारी भाटभटेनी सुपर मार्केट, कालिमाटी तरकारी बजारमा समेत बेचिन्छ । पर्याप्त लगानी हुने हो भने ४ सिजनका तरकारी खेती गर्न सकिन्छ तर लगानी नभएकै कारणले सोचजस्तो गर्न नसकेको उनी बताउँछन् ।
पूर्वमन्त्री ढकालले गरे प्रोत्साहन
यसैबीच, नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले पञ्चमुखी कृषि उद्योगमार्फत गाई फार्म तथा अर्गानिक तरकारी खेती गर्दै आएका किसानहरूलाई भेटी प्रोत्साहन गरेका छन् । पूर्वसहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका ढकालले फार्म हाउस तथा तरकारी खेतीको अवलोकन गरी देशलाई आत्मनिर्भर तथा समृद्ध बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
सरकारले कृषि क्षेत्रमा दिने गरेको अनुदान वास्तविक कृषकले नपाउने समस्याका कारण यो क्षेत्रले गति लिन नसेको भन्दै आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गर्ने आश्वासन ढकालले दिएका छन् । ढकालले कृषि क्षेत्रमा पछिल्लो समय युवाहरूको आकर्षण बढ्दै गएकोले कृषिमा सरकारले बिनाधितो तथा निब्र्याजी ऋणको व्यवस्था गर्नुपर्ने बताए । उनले अर्गानिक खेतीको विकास गर्ने वाम गठबन्धनको चुनावी घोषणा भएकाले वर्तमान सरकारले यस क्षेत्रको विकासमा विशेष जोडमा आफू आशावादी रहेको बताए । उत्पादनको विकास र रोजगारीको सृजनाबाट मात्रै देशले काँचुली फेर्न सक्ने उनको धारणा थियो ।
फार्मका सञ्चालक सुकराम गुरुङ, अतिउत्तम सहकारी संस्थाकी अध्यक्ष ममिता पुनलगायतले पूर्वमन्त्री ढकाललाई फर्मको बारेमा जानकारी गराएका थिए ।

Bhansar Bivag
Argakhachi Cement