बालअधिकारको क्षेत्रमा विभिन्न गाँउपालिका तथा नगरपालिकामा रहेर काम गर्ने संघसंस्थाहरुका प्रतिनिधिहरुलाई बालअधिकार सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।प्लानइन्टरनेशनल नेपालसँगको साझेदारीमा रिलिफ नेपालले सिन्धुलीमाढीमा संचालन गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सोमवार सम्पन्न भएको हो ।गत चैत्र १ गते देखि सुुरु भएको तालिममा सहभागीहरुलाई बालअधिकार, बालविवाह, समुुदायमा आधारित बालसंरक्षण, आपतकालिन अवस्थामा बालबालिकाको संरक्षण, बालअधिकारमा आधारित योजनातर्जुमा लगायतका विषयमा प्रशिक्षण दिएको थियो ।
प्लानइन्टरनेशन नेपाल सँगको साझेदारीमा रिलिफ नेपालले संचालन गरिरहेको बालसंरक्षण कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको कार्यक्रम संयोजक लोकहरि आचार्यले बताए ।तालिममा सिकेका कुराहरु आफ्नो गाउँपालिकामा गएर प्रयोगमा ल्याउने सहभागीहरुले बताएका थिए । तालिममा मरिण, सुनकोशी, गोलन्जोर, तीनपाटन गाउँपालिकालगायत कमलामाई र दुधौली नगरपालिकामा रहेर बालबालिकाको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।तालिममा मानव अधिकारकर्मी कृष्णहरि घिमिरे, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्मा, प्रहरी निरीक्षक शोभा पाण्डेय, महिला तथा बालबालिका कार्यालय सिन्धुलीकी सावित्रा रेग्मीलगायतले सहजीकरण गरेका थिए ।रिलिफ नेपाल सिन्धुलीले प्लान इन्टरनेश्नल नेपाल सिन्धुलीको सहयोगमा बाल संरक्षणका सवाल, चुनौती, समाधानका विविध पक्षमा कार्यक्रम गर्दै आएको छ । बाल मैंत्री जिल्ला बनाउनका लागि सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुलाई बाल संरक्षण नीति बनाउन प्रेरित गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम भइरहेको जनाएको छ ।यसअघि जिल्लाका विभिन्न स्थानीय तहमा पनि जनप्रतिनिधीहरुसँगको अन्तरकृया कार्यक्रम सम्पन्न गरिसकेको छ । जिल्लाको तीनपाटन र गोलञ्जोर र मरिण गाँउपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिका लगायतका स्थानका जनप्रतिनिधीहरुसँग बाल संरक्षणका सवाल, बाल मैंत्री स्थानीय तह घोषणा लगायतका सवालमा छलफल र अन्तरक्रिया कार्यक्रम गरेको थियो ।