काठमाडाँै, ४ असोज राजनीतिक दलका नेताहरुले संविधानको कार्यान्वयन सुस्त गतिमा भइरहेको बताउनु भएको छ ।
नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको ‘संविधानको उपलब्धि र चुनौती’ विषयको अन्तरक्रियामा उहाँहरुले संविधानको कार्यान्वयन सुस्त गतिमा भएकाले मुलुकले समृद्धि हासिल गर्न नसकेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको सफल कार्यान्वयन हुन नसकेको भन्दै संविधान कार्यान्वयन गरेर मुलुकलाई स्थायित्व गर्दै समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले संविधानको व्यावहारिक कार्यान्वयनमा जोड दिँदै अहिलेको व्यवस्थालाई कडाइका साथ लागू गर्न राजनीतिक दल एक जुट हुनुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) नेता सुभाषचन्द्र नेम्वाङले सबै दलको सहमतिमा संविधान ल्याएको हुनाले कार्यान्वयन पक्षलाई कडाइ गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन एकदमै सुस्त गतिमा रहेको भन्दै सबै दल एक ठाउँमा उभिएर कार्यान्वयनका चुनौतीलाई पार लगाउनु पर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधानको नीतिगत रुपमा कार्यान्वयनका काम धेरै अगाडि बढेको भन्दै व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले संविधानले मधेशी जनताको अधिकार सुनिश्चित नगरेको हुनाले संविधानप्रति आफूहरुको असहमति रहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता सूर्य ढुंगेलले कार्यपत्र प्रस्तुत गर्दै संविधान कार्यान्वयन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।
–––