काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको प्रक्रिया पूर्णरुपमा सुरु भएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज टेलिभिजन र एफएम रेडियोका सम्पादकसँगको भेटमा उहाँले मन्त्रिपरिषद्ले उच्च अदालत गठन गरेको र त्यसमा सबै दलको सहमति हुनुले संविधान कार्यान्वयनको प्रक्रिया द्रुतरुपमा अगाडि बढेको पुष्टि भएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “उच्च अदालत गठन भयो । यसमा सबै दलको सहमति रहेको छ, त्यसलाई राष्ट्रिय सहमतिका रुपमा मैले लिएको छु । यसले संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएको छ । सबै दलको सहमतिमा अरु बाँकी रहेका विषय पनि अगाडि बढ्छन् ।”
मन्त्रिपरिषद्को आजको बैठकले पुनरावेदन अदालतको सट्टामा उच्च अदालत गठन गरेको छ । केही दिन पहिले बसेको व्यवस्थापिका–संसद्को बैठकले कानुनी प्रबन्ध गरेपछि उच्च अदालत गठनको बाटो खुलेको हो । प्रधानमन्त्रीले उच्च अदालत गठन संविधान कार्यान्वयनको अर्को चरण रहेको र त्यसले नेपाली जनतामा नयाँ उत्साह थप्नेसमेत बताउनुभयो ।
यस्तै, संविधान संशोधन प्रक्रिया पनि विस्तारै अगाडि बढेको र केही समयपछि त्यसले सार्थकता पाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले आज पनि मधेस केन्द्रित दल र अन्य पक्षसँग संविधान संशोधनका बारेमा कुराकानी गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “भारत भ्रमणअगावै संविधान संशोधन गर्ने भन्ने थियो तर तयारी र कुन कुन विषयमा कसरी संशोधन गर्ने भन्नेमा थप छलफल आवश्यक रहेकाले हतारमा गरिएन ।”
नेपालको आन्तरिक विषय नेपाली आफँै बसेर हल गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आन्दोलनरत मधेसवादी दल, सत्ता साझेदार एवम् प्रमुख प्रतिपक्षी दल सबैको सहमतिमा केही समयभित्रै संविधान संशोधन हुने बताउनुभयो ।
भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधनका बारेमा कुनै पनि छलफल नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “अहिले छलफल र आवश्यक तयारी नपुगेका कारण केही समय पर सरेको हो । सबै पक्षको सहमतिमा केही समयभित्रै आवश्यक प्रक्रिया अगाडि बढ्ने र संविधानको सर्वस्वीकार्यता कायम हुन्छ ।”
बिहीबारदेखि हुन लागेको आफ्नो भारतको राजकीय भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उहाँको भनाइ थियो । “भ्रमणका क्रममा नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा देखिएको असमझदारी हटाउने र नेपाल र भारत सम्बन्धलाई नयाँ उचाइमा उठाउने नै मेरो प्रयास रहनेछ”– प्रधानमन्त्रीले भन्नुभयो ।