काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन नभए मुलुक असफल हुने बताएका छन् ।
सामाजिक विकास समाजले तिज पर्वको अवसरमा शनिबार अनामनगरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयनका लागि दल एकजुट हुनुपर्ने बताएका हुन् । उनले भने, ‘राजनीतिक दल एकजुट नभए अहिलेसम्म भएका उपलब्धि गुम्न सक्ने खतरा छ ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले मुलुकमा धेरै परिवर्तन भए पनि राजनीतिक दलका मतभिन्नताले चाहेअनुसार परिवर्तन नभएको उल्लेख गर्दै राजनीतिक अस्थिरताका कारण जनतामा निराशा छाएको बताए ।
यसैबीच, सभामुख ओनसरी घर्तीले संविधानले सबै जाति समुदायका अधिकारलाई संरक्षण गरेकाले यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । शनिबार राजधानीमा ‘पहिचानको खोजी’ नामक कृति सार्वजनिक गर्दै सभामुख घर्तीले नेपालमा बसोबास गर्ने सबै जाति तथा समुदायको पहिचान नै समग्रतामा नेपाली पहिचान भएको बताइन् ।
०१६ सालदेखि ०७३ सम्मका आदिवासीका महत्वपूर्ण घटनाक्रमलाई पुस्तकमा समावेश गरिएको छ । इन्डिजिनिस मिडिया फाउन्डेसनले उक्त पुस्तक प्रकाशन गरेको हो । आदिवासी जनजाति महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भका विषयमा २१ लेखकले सामूहिक रूपमा लेखेको उक्त पुस्तक उपयोगी हुने सभामुखको भनाइ थियोे ।
अधिकारकर्मी महेन्द्र लावती र शुभ घलेले आदिवासी जनजाति महिलाको अवस्थाबारे चासो राख्ने सबैका लागि पुस्तकले सहयोग पु¥याउने बताए ।