पोखरा, ८ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधनको प्रस्तावले मुलुकमा सङ्कट निम्त्याएर द्वन्द्व चर्काउने आरोप लगाउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घ प्रदेश नं ४ स्तरीय समन्वय परिषद् भेलाको आज यहाँ उद्घाटन गर्दै मुलुकको आवश्यकताभन्दा पनि मधेसवादी दललाई खुसी पार्न नै संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो ।
नदुखेको टाउकामा डोरी बाँधेर दुखाउने गरी संशोधन प्रस्ताव पेस गरिएको उल्लेख गर्दै उहाँले देश र जनताको अहित हुने गरी ल्याइएको प्रस्तावलाई एमालेले पास हुन दिँदैन भन्नुभयो ।
अर्को माघ ७ गतेसम्म तीनवटै निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने बेलामा निर्वाचनसम्बन्धी एउटा पनि कानुन नबनाएर सरकार चुनावदेखि भाग्न खोजेको आरोप लगाउनुभयो ।
एमाले स्थायी कमिटीका सदस्य एवम् महासङ्घका केन्द्रीय अध्यक्ष मुकुन्द न्यौपानेले मुलुक दिन प्रतिदिन परनिर्भरतातर्फ अग्रसर भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
एमाले प्रदेश नं ४ का संयोजक एवम् पूर्वमन्त्री किरण गुरुङले समृद्ध नेपालको निर्माणमा उद्यमी एवम् व्यवसायीको महत्वपूर्ण दायित्व भएको र राज्यलाई बढी कर तिरेर राज्यको ढुकुटीलाई मजबुत बनाउन आग्रह गर्नुभयो ।
महासङ्घअन्तर्गत प्रदेश नं ४ का संयोजक प्रेमप्रसाद पौडेलको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, एमालेका केन्द्रीय सदस्य पद्मा अर्याल, सूर्य भुजेल, श्रीचन्द्र शर्मा, यमकुमार श्रेष्ठलगायतका वक्ताले बोल्नुभएको थियो ।