रित ब. श्रेष्ठ “कृष्ण”
नेपालको राजनैतिक क्रान्तिका उपलब्धी प्राप्तीको इतिहासलाई फर्केर हेर्दा नेपाल कै पहिलो पार्टी “प्रजा परिषद” देखि अहिले सम्म राजनैतिक अधिकार प्राप्तीका विभिन्न कालखण्डमा आन्दोलन, जनआन्दोलन, शसस्त्र युद्ध र पुनः जनआन्दोलन मार्फत प्राप्त हुदै गएको प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र सम्म आइपुग्दा पनि राजनैतिक अधिकारका लागि अहिले पनि बन्द, हड्ताल, जुलुस, आगजनी अझ नेपाल बन्द हुनु छाडेको छैन । कहिले सम्म हामी यि यस्ता कुराहरुमा अल्झिने र नागरिक र राष्ट्रलाई अल्झाउने । “मेरो गोरुको बाह्रै टक्का” नभनी विचको मध्यमार्गी बाटोबाट निकास निकाली देशलाई अग्रगामी दिशामा लगी समृद्ध नेपाल निमार्ण गर्न सवैको कर्तव्य हो र अव देशलाई समृद्धि बनाउन आ–आफ्ना व्यक्तिगत हठ त्यागी एकजुट हौ ।
नेपालको संविधान गतिशिल भएको सवैलाई अवगत नै छ । यो शिलालेखमा लेखिएको अक्षरहरु हैन जो संशोधन गर्नै नमिल्ने । समयको आवश्यकता परिस्थिती नागरिकको माग अनुसार व्यवस्थापिका संसदको दुइतिहाईले संशोधन गर्न सक्नेछ । अहिले देशमा यहि सर्गर्मी चढेको छ । अहिले सरकारले संसदमा पेश गरेको संसोधन प्रस्ताव कसलाई खुशि पार्न गरिएको हो ? त्यसको औचित्य अहिले आएर अन्योल संगसगै प्रस्ट हुन खोजिरहेको छ । संशोधन मेरो, तिम्रो, तपाइको, हजुरको या कस्को लागि ?दायाँ, बायाँ, अगाडि, पछाडि, पुर्व, पश्चिम, उत्तर, दक्षिण आखिर कस्का लागि ? जसका लागि भनेर संशोधन दर्ता गरियो आज अहिले उनीहरु नै असन्तुष्टी व्यक्त गरिरहेका छन । त्यतिमात्र कहाँ हो र , आन्दोलन गर्ने सरकारलाई दिएको सर्मथन फिर्ता लिने धम्की दिइरहेका छन । नागरिकहरु आन्दोलन गरि रहेका छन । प्रतिपक्षले संसद अवरुद्ध गरिरहेका छन । उनैका भात्रृ संगठनहरुले सडक तताइरहेका छन । यति मात्र कहाँ हो र सत्ता पक्षका माननिय साँसद ज्यूहरुले यो संशोधनको विपक्षमा उभिएर नागरिकले स्वः स्फुर्त गरिएको आन्दोलनको अथिति, विशिष्ट अथिति, प्रमुख अथिति भई आन्दोलनको नेतृत्व गरि रहेका छन । “ओल्लो घरको नरे पल्लो घरमा सरे” भने जस्तै तराई आन्दोलन अहिले पहाडि भुगोलमा सरेको छ र सरकार स्वयमले नै सारेको छ । यस्तो घटना परिघटनाहरु दिन दिनै बढ्ढै जानु पर्ने अवस्थाले नागरिक र राष्ट्रको लागि त्यती हितकर छैन ।
“भाइ फुटे गवाँर लुटे” भने जस्तै हामी राष्ट्रिय हितका लागि एकजुट हौं । चित्त नबुझिएका कुराहरु एक आपसमा माँझामाझ गरि अथवा संविधान संसोधन नै गरि मिलाउदै जाउला । अव देशलाई अन्धकारमा राख्नु हुदैन । सवै नेपाली नागरिक र राष्ट्रको कसरी समृद्धी हुन्छ त्यस तर्फ विचार गरौं, सोचौं अनि अगाडि बढौं ।
सदस्य–केन्द्रिय परिषद तथा खेलकुद विभाग
नयाँ शक्ति पार्टी, नेपाल