संवैधानिक इजलासमा निर्वाचनका तीन मुद्दा: पुस १९ मा पुनः सुनुवाई

प्रकासित मिति: ७ पुष २०७४, शुक्रबार १५:५७

काठमाडौँ, ७ पुस सर्वोच्च अदालतले निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काले पुनः मतगणना गर्न माग गर्दै गरेको मुद्दामा अन्तरकालीन आदेशको छलफलका लागि यही पुस १९ गते झिकाउने र निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउनसमेत आदेश भएको छ ।

त्यसैगरी, आजै संवैधानिक इजलासले तनहुँ प्रदेशसभा ९क० उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्दामा अन्तरकालीन आदेश दिने वा नदिने विषयमा छलफलका लागि यही पुस १९ गते झिकाउने आदेश जारी गरेको छ ।

त्यसैगरी, धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएकाले सो निर्वाचन बदर गर्न माग गरेको मुद्दामा छलफल र अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस १९ नै संवैधानिक इजलासले झिकाउने आदेश जारी गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement