सकिदै छ स्मार्ट लाइसेन्स

प्रकासित मिति: १२ फाल्गुन २०७३, बिहीबार ०२:४६

काठमाडौं – सरकारले समयमै निर्णय गर्न नसक्दा सवारी साधन चालकलाई प्रदान गरिने स्मार्ट लाइसेन्सको स्टक रित्तिने अवस्था सिर्जना भएको खबर आजको कारोबारमा छ ।

पछिल्लो समय नयाँ लाइसेन्सको तीव्र माग र पुरानाको नवीकरण अत्यधिक भए पनि थप स्मार्ट कार्ड ल्याउने सम्बन्धमा कुनै निर्णय भएको छैन । यसले अबको केही दिनभित्रै नयाँ लाइसेन्स जारी नहुने अवस्था आएको छ ।

२०७२ मंसिर १४ देखि वितरण सुरु गरिएको स्मार्ट लाइसेन्सको स्टक करिब सकिएको छ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सुरु भएको उक्त परियोजनामा सरकारले आफ्नो तर्फबाट कुनै काम नगर्दा यस्तो अवस्था आएको हो ।

यातायात व्यवस्था विभागसँग बुधबारसम्म जम्मा २ हजारभन्दा पनि कममात्रै स्मार्ट कार्ड बाँकी छ । स्मार्ट कार्ड नहुँदा एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमती चालक अनुमतिपत्रमा अत्यधिक भिड भएपछि खोलिएका तीन नयाँ लाइसेन्स कार्यालयहरू सुरुमै कामबिहीन भएका छन् ।

एडीबीको सहयोगमा मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको १ लाख ६० हजार स्मार्ट कार्डमध्ये १ लाख ४५ हजार वितरण गरिसकिएको र करिब १३ हजार कार्ड प्रिन्ट मिस्टेक लगायत कारणले ड्यामेज भएको विभाग स्रोतले जनाएको छ । त्यसैले अब विभागसँग २ हजारभन्दा कम संख्यामा स्मार्ट कार्ड बाँकी छ जुन नियमित प्रिन्ट गर्दा दुई दिनमै सकिन्छ ।

“विभिन्न समस्या देखाएका कारण नै अहिलेसम्म कार्ड बाँकी रहेको हो,” विभागका एक अधिकारीले कारोबारसँग भने, “सर्भर बिग्रियो, स्मार्ट कार्ड प्रिन्टमा समस्या आयो, फारम लिने संख्याको सीमा सकियो जस्ता बहाना नबनाएको भए यो दुई/तीन साताअघि नै सकिसक्थ्यो ।”

यससँगै एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा भिड भयो भनी लाइसेन्स वितरणका लागि ठूलो भ¥याङ, जगाती र सुकेधारामा विस्तार गरिएका कार्यालय समेत नवीकरणको काम मात्र गरेर बसेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा काठमाडौंका थप तीन स्थानमा लाइसेन्स वितरण कार्यालय खोलिएको हो । गत मंसिर १७ मा ठूलोभ¥याङ, माघ २ मा जगाती र माघ ११ मा सुकेधारामा कार्यालय खोलिएको हो ।

विभागले ट्रायल सेन्टर खोज्दै गरेको, पूर्वाधारको काम भइरहेको भन्दै नयाँ लाइसेन्स वितरण सुरु गरेको थिएन । त्यसको मुख्य कारण स्मार्ट लाइसेन्स सकिनु नै भएको पुष्टि भएको छ ।  विभाग भने स्मार्ट कार्ड नसकिएको दावी गर्छ ।

“केही संख्यामा कार्ड बाँकी छ,” यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, “हामीले मद्रास सेक्युरिटी प्रिन्टर्ससँग थप ५३ हजार कार्ड मागेका छौं । त्यो आउने क्रममा छ ।”

थप स्मार्टकार्ड आपूर्तिका लागि पहल भइरहेकाले  समस्या आइ नै सक्यो भन्ने अवस्था नरहेको उनको भनाइ छ । नयाँ खुलेका लाइसेन्स कार्यालयहरूमा भने ट्रायल सेन्टर लगायतको कारण काम अघि बढ्न समय लागेको पाण्डेको भनाइ छ । “सुकेधारास्थित लाइसेन्स कार्यालय फारम खोल्ने अन्तिम तयारीमा छ,” उनले भने ।

Bhansar Bivag
Argakhachi Cement