२ साउन २०७४ सोमबार
काठमाडौं
तपाई महानगरबाट के अपेक्षा गर्नुहुन्छ? महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एकै स्वरमा सत्या सापकोटालाई प्रश्न सोधेपछि सत्याले भनिन् — मोनोरेल बनाउनु अघि सडकका खाल्डाखुल्डी पुरिदिनोस् । गएको शुक्रबार महानगरको वडा नं. ३ सामाखुशीबाट पानी जमेको सडकमा जमिन र खाल्डो छुट्याउन नसकी बगेकी सत्यालाई भेट्न उनकै निवास पुग्नुभएका मेयर, उपमेयर, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको टोलीसँग सत्याले माग राखिन् । फेरि कसैले पानीमा बग्नु नपरोस् ।
उनको माग सुनेर उपस्थित सबैलाई स्तव्ध बनाएको थियो ।
सत्याको घरमा निर्वाचित मेयर र उपमेयरसँगै देखेपछि स्थानीयले मौकाको उपयोग गर्दै माग राखे — विकासका कार्यमा समन्वय गरेर नागरिकलाई सहज जीवनयापनको व्यवस्था मिलाइदिनोस् ।
महानगरले एउटा वडाको मात्र भन्दा पनि समग्र चक्रपथको व्यवस्थापनसँगै अन्य निकायसँग समन्वय गरिदिनु पर्छ । सामाखुशीमा डुवान हुनुमा महाराजगञ्ज, बसुन्धरादेखिको पानी बगेर चोक आउनु र निकास नहुनु हो । स्थानीयको विषयलाई स्पष्ट पारे ।
पीडित परिवारहरुसँगको स्थलगत भेटका क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सत्या सापकोटाको दुःखमा सहयोग गर्न महानगरपालिकाले एक लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिने बताउनुभयो । नागरिकको दुःखमा महानगर साथमा छ । अनपेक्षित घटनाबाट हामी दुःखी छौं — मेयर शाक्यको भनाइ थियो ।
राजधानी सहरमा पानीको भेलसँगै नागरिक बग्ने अवस्था दुःखद् हो, यसको समाधान महानगरको प्राथमिकतामा छ, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो ।
छलफलका क्रममा महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्थलगत अवस्था बुझेर तत्काल सुधारका काम गर्न इञ्जिनियर खटाइ सकिएको र काम तत्काल सक्न वडामा रकम पठाइदिने बताउनुभएको थियो ।
सत्यासँगको भेटपछि मेयर, उपमेयरसहितको टोली तारकेश्वर नगरक्षेत्रमा पुगेको थियो । जहाँबाट विनिता फुयाँल बगेकी थिइन् । त्यहाँ पुगेर मृतकका मातापितालाई भेटेर महानगरपालिकाकोतर्फबाट २५ हजार रुपैयाँ र तारकेश्वर नगरपालिकाकोतर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो । सहयोग रकम महानगरका प्रमुख विद्यासुन्दर शाक्य र तारकेश्वर नगरपालिकाकोटतर्फबाट मेयर रामेश्वर बोहराले प्रदान गर्नुभइको थियो भने महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले समवेदना पत्र प्रदान गर्नुभएको थियो ।
मृतकका अभिभावकले अव्यवस्थित भौतिक पूर्वाधारका कारण हुने गरेका मानवीय क्षतिको जिम्मेवारी कसले लिने ? जनप्रतिनिधिसँग प्रश्न गरेका थिए ।
सो क्रममा बालिकाहरु पानीमा डुबेको स्थान र उद्धार गरिएको स्थानको स्थलगत भ्रमण अवलोकन गरिएको थियो ।