घोराही (दाङ) । रुपान्तरित अलौकिक सिद्धान्तमा आधारित ५ दिने तालिमको उद्घाटन तथा समापन कार्यक्रमका अधिकांश वक्ताहरूले सफलताको मूल सूत्र सकारात्मक सोच रहेको निष्कर्ष निकालेका छन् । मानिस कुनै पनि कामप्रति सकारातमक सोच र प्रतिबद्धताका साथ लागेमा सफल हुने वक्ताहरूको भनाइ थियो ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ दाङ र सिद्धान्त अनुसन्धान महाविद्यालय दाङको संयुक्त आयोजनामा सम्पन्न तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा घोराही नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जस्तोसुकै परिस्थितिमा पनि मानिस आफ्नो लक्ष्यबाट पछि हट्न नहुने बताए । आफुले आफैलाई आत्मसम्मान गर्नसके मात्रै व्यक्ति सफल तथा आत्मसन्तुष्ट हुनसक्ने बताउँदै सापकोटाले अरूको देखासिकी गर्न नहुनेमा जोड दिए ।
विश्व शान्तिका लागि आत्म सन्तुष्टि अपरिहार्य भएको र आत्मसन्तुष्टिका लागि सकारात्मकता पनि उत्तिकै अपरिहार्य भएको कार्यक्रमका सहभागीहरूले बताए । वक्ताहरुले विश्वमा शान्ति कायम गर्न जात, धर्म तथा राष्ट्रियताको आधारमा विभेद गर्न नहुने कुरामा पनि जोड दिए ।
पद्मोदय पब्लिक नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्ती मगरको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा बोल्दै घर्तीले देशको मुख्य जिम्मेवारी युवाहरूको काँधमा भएको इंगित गर्दै कसरी असल बन्न सकिन्छ भन्ने कुराको खोजी गर्न आवश्यक भएकोमा जोड दिए । आत्मविश्वास तथा कुनै पनि लक्ष्यका साथ अघि बढेमा सफल हुने भन्दै उनेले नकारात्मक सोचलाई हटाई युवाहरू हरेक क्षेत्रमा सकारात्मक मानसिकता बोकी अग्रसर हुनुपर्ने बताए । त्यस्तै, पद्मोदय क्याम्पस व्यवस्थापन समितका अध्यक्ष बमबहादुर बिसी, विद्यालयका प्रधानध्यापक डा.कृष्णराज डिसी, पदमप्रसाद बस्नेत लगाएतले सफल र असल वयक्ति बन्न पहिला ‘म को हुँ’ भनेर आफैलाई चिन्न आवश्यक भएकोमा जोड दिए । मानिसले आफ्नै कारणले दुःख पाएको भन्दै सन्तुष्टि आफैमा खोज्नुपर्ने उनीहरूको भनाइ थियो ।
तालिममा भिक्टोरिया कलेज र पद्मोदय क्यापसका गरी ९० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । उनीहरूले जीवनमा असल र सफल बन्ने कलाबारे सिक्न पाउँदा खुसी लागेको बताए । संघले युवाहरुको नैतिक शिक्षा, नेतृत्व विकास, व्यक्तित्व विकासका क्षेत्रमा काम गर्दै आएको छ । विश्वका २ सय १० भन्दा बढी देशमा सञ्चालित यस संस्थाले युवालाई देशको जिम्मेवार व्यक्ति बनाउन खेल्नुपर्ने भुमिका, जीवनको उद्देश्य निर्धारण, सकारात्मक सोचको विकास लगायतका पक्षमा काम गर्दै आएको छ ।
उद्घाटन कार्यक्रमको सहजीकरण संघका सदस्य हेमराज अधिकारीले गए भने समापन कार्यक्रमको सहजिकरण नेत्र सागर चौधरीले तथा अध्यक्षता महासंघका दाङ जिल्ला संयोजक जेनी अधिकारीको गरिएका थिए । तालिमका मुख्य प्रशिक्षकमा संघका मध्यपश्चिम संयोजक अशोक कुमार चौधरी तथा प्रशिक्षकहरूमा रुपसिङ भण्डारी, नवीन जैशी बजगाईं र हेमराज अधिकारी थिए ।