काठमाडौं, साउन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै पार्टी एकै ठाउँमा आउनुपर्ने बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले केपी ओलीलाई धन्यवाद समेत दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग हैन, एमालेसँग मिलेर चुनाव लडौं भनेका छन्, वामदेव गौतमले त एउटै चुनाव चिन्हमा लडौं भने, यसमा माओवादीको धारणा के छ ? भनी पत्रकारहरुले प्रचण्डलाई प्रश्न गरेका थिए ।
जवाफमा प्रचण्डले भने, ‘ओलीजीले यसो भनेकोमा उहाँलाई धन्यवाद नै दिन चाहन्छु । उहाँ ठूलो त बन्नुभयो तर परिस्थितिको गम्भीरतालाई बुझेर यसो भन्नुभएको होला, यसमा उहाँलाई धन्यवाद छ । वामदेवजीले त चुनाव अघि देखि नै मिलौं भन्दै आउनुभएको हो, उहाँले त ५०र५० गरेर चुनावमा जाऔं समेत भन्नुभएको हो ।’
विगतमा माओवादीमा पनि जितले घमण्ड पलाएको भन्दै प्रचण्डले अगाडि भने, हाम्रो घमण्ड चूर भयो, एमालेको पनि घमण्ड चुर भएकै हो । कांग्रेसको घमण्ड पनि चूर हुँदैछ । सबैको घमण्ड चूर भएपछि हामी एकै ठाउँमा आउनुपर्छ ।’
प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा ब्युँताउँदै प्रचण्डले राष्ट्रपतिको शासन व्यवस्था ल्याउन आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी पनि दिए । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा सहमति जुटाउन पहिले कांग्रेस, एमाले लगायत दलहरुसँग सुरुमा छलफल गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने उनको भनाइ छ ।
यो विषयको गहिराई, संवेदनशीलता र ऐतिहासिक आवश्यकतावोध गरेर यसको पक्षमा जनमत निर्माण गर्न कांग्रेस, एमालेसँग सौहाद्ररुपमा छलफल गर्ने भन्दै प्रचण्डले भने, ‘मलाई के विश्वास छ भने उहाँहरु पनि मान्नुहन्छ र देशले धेरै ठूलो सुख पाउँछ ।’
अहिलेको शासकीय प्रणालीले कसैको पनि बहुमत नआउने र स्थीर सरकार पनि नरहने भएकाले सबै पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आउनुपर्ने प्रचण्डको धारणा छ । पटक-पटक सरकार परिवर्तन भइरहँदा जनताले दुःख पाएको र आर्थिक समृद्धिको सपना पनि पूरा नभएको प्रचण्डले बताए ।
१० वर्षमा १० वटा सरकार फेरिएको र संविधान जारी भएको तीन वर्षभित्र तीन वटा सरकार बनेको भन्दै उनले भने, ‘मौका पर्यो भने ४-५ वटा बन्न बेर छैन ।’
साथै माओवादी अध्यक्ष प्रचण्डले चुनावमा जसले जिते पनि माओवादीकै एजेण्डाको जित भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्न स्थानीय चुनाव गर्न आफूले सबैभन्दा बढी जोड दिएको भन्दै प्रचण्डले यसमा आफूलाई गर्व लागेको बताए ।
‘स्थानीय तह जसरी बन्यो र निर्वाचन जसरी सम्पन्न भयो मलाई र हाम्रो पार्टीलाई यस अर्थमा त खुसी छ कि त्यहाँ कांग्रेसले जिते पनि, एमालेले जिते पनि, माओवादी वा मधेसवादी जसले जिते पनि लागू गर्ने त संघीय लोकतान्त्रिक गणतन्त्रै हो । समावेशी समानुपातिक नै लागू गर्ने हो । यस अर्थमा माओवादीले गर्व गर्ने ठाउँ छ र मैले बेला-बेलामा भन्ने गरेको छु, काम त माओवादीकै गर्ने हो सबैले । लागू गर्ने एजेण्डा त माओवादीकै हो ।’