सभापति देउवा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भेटवार्ता

प्रकासित मिति: २८ फाल्गुन २०७३, शनिबार १४:४१

काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युन जिविङबीच भेटवार्ता भएको छ ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो ।

उक्त भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलका नेताले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध बढी प्रगाढ बनेको तथा यसलाई थप सुदृढ र प्रगाढ बनाउन चाहेको बताउनु भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिँदै चिनियाँ नेता तथा जनता उहाँलाई चीनमा स्वागत गर्न उत्सुक रहेको जानकारी गराएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त भेटघाटका क्रममा सभापति देउवाले नेपाल एक चीन नीतिप्रति कटिबद्ध रहेको र यसमा शङ्का गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभएको थियो ।

नेपाल र चीनबीच सदियौँदेखि घनिष्ट र सुमधुर सम्बन्ध रहँदै आएको तथा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा समयसमयमा पार्टीको तर्फबाट चीन भ्रमण गर्ने नेपाली काँग्रेसको प्रतिनिधिमण्डलबाट प्राप्त अनुभव र जानकारीले पार्टीलाई लाभान्वित गरेको समेत सभापति देउवाले बताउनुभएको थियो ।

सो अवसरमा सभापति देउवाले संविधान संशोधन गरी मधेसवादीलगायत सबै दललाई सहमतिमा ल्याएर निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताले गर्दै आएको सहयोग र सद्भावको उच्च सराहना गर्दै सभापति देउवाले उपयुक्त समयमा चीन भ्रमण गर्नेसमेत चिनियाँ प्रतिनिधिमण्डललाई आश्वस्त पार्नुभएको थियो

Bhansar Bivag
Argakhachi Cement