बिष्णु निश्चल
काठमाडौं । यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणामले वामपन्थीलाई देशैभरिबाट बहुमत प्राप्त भइरहेको छ । मतगणनाको अन्तिम परिणाम आइनसके तापनि समाचार तयार पार्दासम्म नेकपा एमाले पहिलो स्थानमा र नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा देखिएको छ । चुनावअघि आकस्मिक तालमेल गर्दै गठबन्धनमार्फत् चुनावमा होमिएका यी दुई वाम पार्टीले गर्दा नेपाली कांग्रेस छायाँमा परेको छ ।
जताततै वामगठबन्धनको वर्चश्व कायम भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा कम्युनिष्टको वामपन्थी सरकार बन्ने र समृद्ध देश निर्माणको दायित्व कम्युनिष्ट पार्टीकै काँधमा आइपरेको प्रतिक्रिया दिएका छन् । ‘सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्दै समृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको छ,’ भक्तपुरमा आयोजित विजय सभामा बोल्दै ओलीले भने, ‘देशलाई समृद्ध बनाउन कम्युनिस्टहरु अब गम्भीर, स्वच्छ र पारदर्शी हुनु जरुरी छ ।’ उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक नै रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
चुनावी नतिजा आफूहरूले अपेक्षा गरेबमोजिम नै आएको बताउँदै ओलीले वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौति आइपरेको दाबी गरे । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेता ओलीदेशैभरि छाएको वामलहरका कारण निकै उत्साहित र प्रफुल्ल देखिएका छन् । देश बनाउनका लागि उचित प्रकारका नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा आफूहरू अघि बढ्ने उनले प्रष्ट पारे । आफूहरू जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको बताउँदै उनले जितपछि गम्भीर भएर जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नतिर लाग्ने विस्वास दिलाउन खोजे ।
दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद सिट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । जसमध्ये यो समाचार तयार गर्दासम्म ११६सिट वामपन्थी गठबन्धनले जितिसकेको छ, जबकि सो समयसम्म लोकतान्त्रिक गठबन्धनले जम्मा २३ सिट मात्रै जितेको छ । कतिपय कांग्रेस गढ मानिने जिल्लामा पनि यसपटक कांग्रेसको नराम्रोसँग पराजय भएको भने वाम गठबन्धनले ती जिल्लामा पनि क्लिन स्विप गरेको छ ।
प्रतिनिधि सभामा मात्रै होइन, प्रदेश सभामा पनि कांग्रेस सम्मिलित लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउन सकेको छैन । अधिकांश प्रदेश सभामा नेकपा एमालेकै अग्रता छ र वाम गठबन्धनको नै वर्चश्व छ । जसले गर्दा अबका पाँच वर्ष नेपाली कांग्रेस केन्द्रमा मात्रै होइन प्रदेशमा पनि प्रतिपक्षमा बस्नुपर्ने हुन सक्छ । तर सबै प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत आइसकेको देखिन्न, जहाँ नेपाली कांग्रेस, राजपा, संघीय फोरम लगायतसँग संयुक्त सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ ।