सरकार सञ्चालन सहयोग संयन्त्र गठन

प्रकासित मिति: ५ भाद्र २०७३, आईतवार ०५:२८

काठमाडौँ, ५ भदौ । नेकपा (माओवादी केन्द्र)ले सरकार सञ्चालनका लागि सहयोग संयन्त्र गठन गरेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र गठन गरेको हो । सो समितिमा आवश्यकताका आधारमा सदस्यहरू राखिनेछ ।

संयन्त्रले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव तथा सल्लाह दिनेछ । संयन्त्रमा नेताहरू रामबहादुर थापा, कृष्णबहादुर महरा, मातृकाप्रसाद यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार सदस्य छन् ।

केन्द्रका नेता हरिबोल गजुरेलकाअनुसार समितिले सरकारले तत्काल गर्नुपर्ने काम कारबाहीका विषयमा सुझाव दिने र आवश्यक परामर्श गर्नेछ ।

यस्तै बैठकले पार्टीको सङ्गठन विभाग पुनःगठन गरेको छ । नेता रामबहादुर थापाको नेतृत्वमा रहेको सो विभागमा १३ सदस्यीय बनाइएको हो । सो समितिमा सातवटा प्रदेशका इन्चार्ज सदस्य रहने र नेताहरू रायमाझी, पोखरेल, मणि थापा र अन्तर्राष्ट्रिय विभागका सदस्यसमेत रहने बताइएको छ ।

त्यसैगरी प्रदेश नं १ को इन्चार्जमा गोपाल किराती र प्रदेश नं ६ को इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश नं १ का इन्चार्ज सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार मन्त्री र ६ नं प्रदेशका इन्चार्ज जनार्दन शर्मा ऊर्जा मन्त्री बनेका कारण खाली रहेको स्थानमा किराती र बस्नेतलाई जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

बैठकले राजनीतिक र सङ्गठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय गरेको छ । बैठकमा सरकारको काम कारबाही र मन्त्रिपरिषद् विस्तारलगायत विषयमा समेत छलफल भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement