१७ भदौ, काठमाडौं । नेपालको पहिलो सहकारी तथा गरिबी निवारण मन्त्रि एकनाथ ढकालले सहकारी संचालनमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउँदै सहकारीले उत्पादकत्वको बिकासमा जोड दिनु पर्ने बताएका छन् । शनिवार राजधानीमा अत्युतम बहुउद्देश्यीय सहकारी सस्थाको उद्घाटन गर्दै ढकालले यस्तो बताएका हुन् ।
संगै बस्ने, संगै काम गर्ने र संगै सोचाई राख्नु नै सहकारिता भएको भन्दै ढकालले सहकारीको माध्ययमद्वारा स्वावलंबन हुनुपर्नेमा जोड दिए । नेपालमा सहकारीले उत्पादनको विकास र रोजगारीको सृजनामा केन्द्रित हुनु पर्ने उनको भनाई थियो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले गरिबी निवारणमा पनि सहकारी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उल्लेख गरे । गैर–उत्पादनशील क्षेत्रमा लगानी नगर्न, मिलिजुली काम गर्न र पारदर्शिता कारोबार गर्न उपस्थित सहकारीकर्मीलाई ढकालले आग्रह गरे । अत्युतम बहुउद्देश्यीय सहकारी सस्थाकी अध्यक्ष ममता पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी विभागका अधिकृतहरु लगायत सामाजिक अगुवाहरु गणेश श्रेष्ठ,गोबिन्द मिश्र, लक्ष्मी प्रसाद भण्डारी, अशोक भट्ट लगायतले शुभकामना दिएका थिए ।