सरकारले सात प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको छ।बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।
‘प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन हुँदासम्मका सबै राजनीतिक नियुक्ति फिर्ता लिने निर्णय भएको छ,’ मन्त्री तामाङले सेतोपाटीसँग भने, ‘प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक हो र सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय भएको छ।’
मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचनको आचार संहिता लागू भएको भदौ १४ देखि नयाँ सरकार बनेको फागुन ३ बीचका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।
मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हटाउन गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुने संवैधानिक व्यवस्था छ।