साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी पहिलो दक्षिण एसियाली सम्मेलन सुरु

प्रकासित मिति: १२ भाद्र २०७४, सोमबार ०१:१८

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनको आयोजनामा साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी पहिलो दक्षिण एसियाली सम्मेलन आजबाट यहाँ सुरु भएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालय र प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्य तथा युएसएड÷डब्लुडब्लुएफ हरियो वन कार्यक्रम, जेडएसएल–नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, रेड पाण्डा नेटवर्क, आयुसिएन नेपाल, नास्ट र डब्लुसिएनको सहयोगमा तीन दिनसम्म जारी रहने संम्मेलनमा भारत, पाकिस्तान, वङ्गलादेश, ताइवान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य लगायत १० मुलुकका १०५ वैज्ञानिक तथा विज्ञको सहभागिता रहेको छ ।

साना स्तनधारी प्राणीहरुको बैज्ञानिक अनुुसन्धानबाट आएका जानकारी तथा तथ्यहरुलगायत विभिन्न आधुनिक उपकरणका प्रयोग र पद्धतिहरुको बारेमा अनुभव तथा जानकारी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । दक्षिण एसियाली देशहरुमा साना स्तनधारी प्राणीसम्बन्धी अनुसन्धान तथा संरक्षणका विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले विभिन्न कारणले जोखिममा परेका साना स्तनधारी प्राणीको संरक्षणको लागि सम्म्ेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले साना स्तनधारी प्राणीहरुको पर्यावरणीय संरक्षणमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

बन तथा भू संरक्षण मन्त्रालयका पूर्व सचिवज्यूहरु डा. उदयराज शर्मा तथा डा. स्वयम्भूमान अमात्यले जलवायु परिवर्तनका कारण साना स्तनधारी प्राणीहरु जोखिममा परेको उल्लेख गर्नुभयो ।

उद्घाटन समारोहमा भारतको ओसमानिया विश्वविद्यालयका डा. चेलमाला श्रीनिवासलुले दक्षिण एसियाका साना स्तनधारी प्राणीको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राडा तेजबहादुर थापाले नेपालमा साना स्तनधारी प्राणीको संरक्षणका चुनौतीहरु र आगामी गन्तव्यका बारेमा बोल्नुभएको थियो ।

साना स्तनधारीप्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अध्यक्ष तुलसी लक्ष्मी सुवालले साना स्तनधारी प्राणीको महत्वको बारेमा प्रष्ट पार्नुका साथै साना स्तनधारी प्राणीको संरक्षणमा सम्बधित निकायको सहयोग र सहकार्यको आवश्यकता आँैल्याउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement