रत्ननगर (चितवन), २१ फागुन । सौराहाको थारू कल्चर हाउसको स्टेजमाथि सधैँ थारू युवाले मौलिक पोसाकमा परम्परागत नृत्य तथा गीत प्रस्तुत गर्थे ।
स्वदेशी र विदेशी पर्यटक टम्म भरिएका हुन्थे । थारू संस्कृतिमा पर्यटक रमाइरहेका हुन्थे । शुक्रबार राति यहाँ फरक दृश्य देखाप¥यो । सौरेलीको जमघटले कल्चर हाउस भरियो । नेपथ्यबाट राजाराम पौडेलको उद्घोषसँगै रातो जामा र सुरुवालमा मह (मदनकृष्ण र हरिवंश) जोडी निस्किए । तीखो राजनीतिक व्यङ्ग्य मिसिएको शब्द प्रयोग गरी लोकभाका मै ‘प्रार्थना गीत’मार्फत दर्शकलाई उचाले ।
ईश्वर तिमीले जगत् बनायौँ, चन्द्र बनायाँै, यति सुन्दर देश बनायाँै …
एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौँ …
ठाउँठाउँमा प्रस्तुत हुँदै आएको ‘नेवार बहादुर र बाहुन बहादुर’मा मह जोडीले जातीयता विरुद्ध प्रहार गर्दै सामाजिक सद्भाव कायम गर्न एक हुने सन्देश दिए । उनीहरुको शब्दान्तक्षरी कार्यक्रममा शब्द–शब्दबाटै घोचपेच गरिएको थियो भने मुक्तक आफैँमा जातीय विचलन विरुद्धको व्यङ्ग्य बनेको थियो ।
उनीहरुको हाउभाउ, प्रस्तुति, शैली तथा शब्द–शब्दमा सामाजिक चेतना छरिएको थियो । हरेक प्रस्तुतिमा हल खचाखच भएका पाँच सयभन्दा बढी दर्शक पेट मिचिमिची हाँसे । उनीहरुलाई साथ दिएका थिए वरिष्ठ कलाकार नरेन्द्र कंसाकार र हरिवंशका छोरा मोहितवंश आचार्यले । शुक्रबार साँझ करिब ५ बजेदेखि सुरु भएको प्रहसन राति ८ बजे सकिएको थियो ।
‘मह’को अन्तिम प्रस्तुति ‘म–डन’को फोटो स्टुडियो थियो । मदनकृष्ण श्रेष्ठ डन प्रवृत्तिको पात्र भएर उपस्थित भए । कपाल पालेका, कट्टु लगाएका, सर्टको फेरो छाडेका, हेदै डरलाग्दा भएर देखिए ।
जताततै ऋणमा डुबेपछि विदेश जाने तयारीमा रहेका हरिवंश आचार्य फोटो खिच्न स्टुडियो आइपुगे । नेपालमा देखिएको गुन्डा संस्कृतिको तीखो व्यङ्ग्य गरिएको उक्त प्रहसन प्रस्तुतिकै सबैभन्दा चाखलाग्दो र रमाइलो बन्यो ।
एउटा डन (गुन्डा)ले देशमा कस्तोसम्म गर्न सक्छ भन्ने सन्देश दिइएको उक्त प्रहसनमा अन्तत पैसाले मानिसलाई जता लैजान पनि सक्दो रहेछ भन्ने देखाइएको थियो । यहाँ विदेश जान लागेको नेपाली छोरा पैसाकै प्रलोभनमा फस्न पुगेका देखाइएको थियो । उनीहरुका हरेक प्रस्तुतिमा विसङ्गतिविरुद्ध सामाजिक चेतनाको बिम्ब झल्किएको थियो । दर्शक सूर्य अधिकारीले सामाजिक सचेतनाको उत्कृष्ट नमुना भएको बताए ।
बीचबीचमा गीतसङ्गीत र नृत्यले मह प्रहसनलाई थप आकर्षण पारेको थियो । उनीहरुको प्रहसनको थप आकर्षणमा शिवहरि पौडेल, किरण केसी र राजाराम पौडेलले ‘बोडर चेकपोस्ट’मार्फत भारतीयको मिचाइ र हेपाइको दुरुस्तै नक्कल गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।
गायिका माण्डवी त्रिपाठीले महसँगको यात्रा सुवर्णयात्रा भएको प्रतिक्रिया दिइन् । उनले आफ्नो चर्चित गीतहरु ‘ढल्क्यो ढल्क्यो जोवन मेरो’, ‘वैँशको बेलैमा, मातलाग्यो मात लाग्यो,’ ‘यो गाउँकी छोरी’, ‘सिम्पल सिम्पल कान्छीको’ लगायत गाइन् ।
मदनकृष्णका छोरा यमनले ठट््यौली गीत ‘खासखुस खासखुस’ गाए भने कलाकार किरण केसी (राता मकै)ले पुराना चर्चित ‘लौन अब के गरौँ के गरौँ’ तथा ‘तँ त साह्रै नै बिग्रिस् बद्री’ ‘चलचित्रको ‘जेठीलाई आमैले रोजेको’ गीत गाए । बीचबीचमा रुविना अधिकारीको नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन दियो ।
होटल सङ्घ नेपालको संयोजन र क्षेत्रीय होटल सङ्घ चितवनको सहकार्यमा सौराहाको थारू कल्चर हाउसमा ‘महयात्रा’ अन्तर्गत प्रहसन भएको हो । देशमा १० सहरमा हुने कार्यक्रम चितवनमा सातौँ हो । तीन घन्टासम्म महजोडीसहित नरेन्द्र कंसाकार, किरण केसी, शिवहरि पौडेल, मोहित आचार्य, योमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुविना अधिकारीले प्रस्तुति दिएका थिए ।
उठेको रकम संरक्षण, छात्रवृत्ति, पुस्तकालय निर्माण, तालिम, व्यवसायीको क्षमता विकासमा खर्च गरिने सङ्घका अध्यक्ष सुमन घिमिरेले बताए ।