सार्क हस्तकला भवन निर्माण हुने

प्रकासित मिति: ६ माघ २०७३, बिहीबार ०३:२६

काठमाडौँ, ६ माघ । उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो ।

नेपाल हस्तकला महासङ्घका उपनिर्देशक ऋषिराम सुवेदीले सार्क देशमा उत्पादन भएका हस्तकलाको सोरुम, प्रयोगशाला सेवा र डिजाइन केन्द्र राख्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो भवन निर्माण हस्तकला विकासका लागि कोसेढुङ्गा साबित हुन्छ ।”

भवन निर्माणका लागि महासङ्घले विस्तृत भवन प्रतिवेदन तयार गरी उद्योगमन्त्रीसमक्ष पठाइसकेको सुवेदीले बताउनुभयो । उहाँले अबको केही समयमा नै उक्त भवनको शिलान्यास गर्ने स्पष्ट पार्नुभयो । उक्त भवन त्रिपुरेश्वरस्थित उद्योग विभागको परिसरमा निर्माण हुन लागेको छ ।

Bhansar Bivag
Argakhachi Cement