रामबाबु रानामगर
भक्तपुर । मंसिर
मध्यपुर ठिमी गठ्ठाघर स्थित चरखण्डी विद्या मन्दिर स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मनोबल बढाउने उद्देश्य सहित शनिवार एक समारोहका बीच सिभिएम प्राङ्गणमा विशेष अभिभावक दिवस सम्पन्न भएको छ ।अग्रजहरुलाई विशेष प्राथमिकता दिएको हुनाले किन्डरगार्टेन देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरुको हजुरबुबा, हजुरआमा हरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र विशेष अतिथि भक्तपुर जिल्ला प्याबसन अध्यक्ष श्रीकृष्ण के.सी.ले गरेका थिए । भने सिभिएम स्कुलका प्रिन्सीपल शंकरप्रसाद पौडेलले कार्यक्रममा सहभागी प्रमुख अतिथि ,विशेष अतिथि एवं अतिथिहरुलाई खादा पहि¥याएर स्वागत गरेका थिए । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सबैभन्दा जेष्ठ व्यक्ति तुल्सीकुमार बाँडेको हातबाट बिरुवामा पानी हालेर र प्रमुख अतिथि , विशेष अतिथि र अतिथिहरुले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेका थिए ।
विरुवामा पानी राख्नुको अर्थ बालबालिका भनेका साना विरुवाहरु जस्तै हुन् । उनीहरुलाई सानै उमेर देखि विरुवालाई झैं उचित तवरले हेरचाह ,स्याहार सुसार र समय समयमा मलजल गरे जस्तै सही तवरले उनीहरुको रेखदेख गर्नुपर्ने सन्देश दिन्छ । वास्तवमा बालबालिका भनेका काँचो माटो जस्ता हुन उनीहरुलाई जस्तो आकार दियो उस्तै प्रकारका माटाका भाँडा बन्छन् । उक्त कार्यक्रममा विद्यालयमा अध्ययन विद्यार्थीहरुले आ आफ्नो प्रतिभाहरु नृत्य , संगीत ,नाटक, जिम्याष्टीक समेत प्रस्तुत गरेका थिए । जसले उक्त वातावरणलाई थप सौन्दर्य थपेको थियो ।
ओम वृद्ध आश्रमबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । जेष्ठ नागरिकहरुलाई प्रमुख अतिथि तथा मध्यपुर नगरपालिकाको मेयर मदनसुन्दर श्रेष्ठ र प्याबसन भक्तपुरका अध्यक्ष श्रीकृष्ण के.सी र विद्यालयका प्रिन्सीपल शंकरप्रसाद पौडेलले सम्मान स्वरुप खादा, उनीको मफलर तथा टोपी र खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो । उक्त सम्मान पछि जेष्ठ नागरिकले हर्षका आँसु खसाल्दै एक जेष्ठ नागरिक कृष्णमाया तामाङ्गले भन्नुभयो हामी जस्तालाई सहयोग गर्नुभएकोमा सिभिएम स्कुल परिवारलाई धन्यवाद नदिई रहन सक्दिन यो सबै प्रकृतिको नियम हो समय क्रम अनुसार सबैको वृद्ध हुने पालो आउछ त्यसकारण जेष्ठ नागरिक प्रति सबैले सम्मान गर्न सिकाउने यस्तो कार्यक्रमले आफुहरु ज्यादै खुसी भएको बताउनुभयो ।
त्यस्तै जेष्ठ नागरिक भनेका हाम्रा अग्रज हुन उहाँहरुको सदैव आदर एवं सम्मान गर्नुपर्दछ । उहाँहरु हाम्रो भविष्य उज्वल बनाउने प्रेरणाका स्रोत हुन् । भने हाम्रो वंशज लाई निरन्तरता दिने व्यक्तित्व पनि हुन । हजुरबुबा, हजुरआमा भनेका सम्मानिय व्यक्ति रहनु भएको कक्षा १ मा अध्ययनरत विद्यार्थी सोनाम बाँडेले बताँइन ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सीपल, सामाजिक संघ–संस्था लगायत पत्रकार र मिडियाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको विद्यालयका सहायक प्रिन्सीपल सुनिल शर्माले बताए ।