सीमा स्तम्भ मर्मत सम्भारलाई निरन्तरता दिइने

प्रकासित मिति: १८ पुष २०७३, सोमबार १४:३५

लुम्बिनी, १८ पुस । नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भारलाई निरन्तरता दिइने सहमति भएको छ ।

आज भैरहवामा बसेको नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीको फिल्ड सर्भे टिमको बैठकले आर्थिक वर्ष २०७१÷०७२ देखि सुरु गरिएको नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकमा नेपालको तर्फबाट रुपन्देही, कपिलवस्तु र दाङ गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र भारतको महाराजगन्ज, सिद्धार्थनगर र बलरामपुर गरी तीन जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटहरु (प्रमुख जिल्ला अधिकारी) बीच नेपाल र भारतका तीन जिल्लाको सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिने सहमति भएको नापी विभागका प्रमुख एवम् नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर–३ का प्रमुख निर्मलकुमार आचार्यले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर–३ अन्तर्गत नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन् । यस टोलीमा यी चारवटा जिल्लामा पर्ने सीमा स्तम्भहरुको सर्भेक्षण गरी आवश्यकताअनुसार मर्मत सम्भार कार्य गरिँदै आएको छ ।

चार जिल्लाअन्तर्गत नेपाल र भारतको सीमामा एक हजार ३२ वटा सीमा स्तम्भहरु रहेका छन् जसमध्ये गत दुई वर्षमा तीनसय सीमा स्तम्भ मर्मत सम्भार गरिएको छ । टोली नम्बर –३ का प्रमुख आचार्यले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बाँकी स्तम्भहरुको यस वर्ष पनि मर्मत सम्भार कार्य जारी राखिने बताउनुभयो ।

गत वर्ष नवलपरासीमा पर्ने १६ वटा सीमा स्तम्भको सर्भेक्षण गरी मर्मत सम्भार कार्य सकिएको थियो ।

उहाँले यस वर्ष रुपन्देहीमा नदीमा पर्ने स्तम्भ, कपिलवस्तु र भारतको बलरामपुर जिल्लामा पर्ने पिलर नम्बर–५७६ र यसबाट पश्चिमतर्फ रहेको पिलर नम्बर–६१५ सम्म पिलरको सर्वेक्षण, मर्मत सम्भार र निर्माणलगायतका कार्य गर्ने बैठकमा सहमति भएको बताउनुभयो ।

बैठकमा दुवै देशका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, वन कार्यालय, नापी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो

Bhansar Bivag
Argakhachi Cement