काठमाडौँ, आउँदै गरेको दसँै, तिहार र छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने भएको छ ।
आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको बैठकले आज उक्त निर्णय गरेको हो ।
चाडबाडलाई लक्षित गरी हाल काठमाडौँ उपत्यका र उपत्यका बाहिर सञ्चालन भएको खाद्य सामग्रीको सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गरी उपभोक्तालाई थप सुविधा पु¥याउने मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यही असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा १२ र बाहिर २३ गरी ३६ सुपथ मूल्यका पसल सञ्चालनमा छन् । उक्त पसल मन्त्रालयको सहकार्यमा तरकारी तथा फलफूल व्यवसायीले गर्नेछन् ।
टिकट सुरक्षित गर्दा छुट दिन निर्देशन
दसैँका लागि घर जाने विद्यार्थीलाई अग्रिम टिकट बुकिङ गर्दा छुट नदिएको र बस सञ्चालक समितिका नाममा धेरै टिकट राख्ने गरेको अनुगमनका क्रममा पाइएपछि उक्त कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको बजार अनुगमनका क्रममा पश्चिम नेपाल बस व्यवसायी सङ्घलाई उक्त निर्देशन दिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी सार्वजनिक भेरी यातायात समिति नयाँ बसपार्क काठमाडौँ, राप्ती अञ्चल सार्वजनिक व्यवसायी समिति नयाँ बसपार्क, पासाङल्हामु यातायात सेवा समिति बालाजु, अखिल नेपाल यातायात व्यवसायी सङ्घलाई पनि सरकारले तोकेअनुसारको छुट र भाडादर मात्र लिनका लागि विभागले निर्देशन दिएको छ ।