स्थानीय तहमा तीन हजार कर्मचारी अपुग

प्रकासित मिति: १८ माघ २०७४, बिहीबार १३:४९

स्थानीय तहमा अझै करिब तीन हजार कर्मचारीको अभाव भएको छ ।सात सय ५३ स्थानीय तहका लागि सहसचिव, उपसचिव शाखा अधिकृत र सुब्बासहित करिब तीन हजार कर्मचारी अभाव भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाले जानकारी दिनुभयो ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृततर्फ १४४ जना र वडाका सचिवतर्फ तीन हजार ५८ पद रिक्त रहेका छन् । अहिले ती ठाउँमा निमित्तले काम गरिरहेको उहाँले बताउनुभयो । सबै स्थानीय तहमा करिब छ हजार १०० वडा कार्यालय रहेका छन् । पहिलेका कार्यकारी प्रमुखलाई अहिले प्रमुख प्रशासकीय अधिकृत भनिन थालेको हो ।

उहाँका अनुसार विराटनगर र वीरगञ्जमा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै नभएको बताउनुभयो । त्यहाँ सहसचिवको दरबन्दी भए पनि उपसचिवले काम चलाइरहेका छन् ।

यसैगरी १३ वटा उपमहानगरमा भने प्रमुख प्रशासकीय अधिकृत पुगेका छन् । यस्तै २७६ नगरपालिकामध्ये २१ वटामा प्रमुख प्रशासकीय अधिकृत रहेका छैनन् भने ६९ मा शाखा अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सञ्चालन गरेका छन् ।

नगरपालिकामा उपसचिव रहने व्यवस्था गरिएको छ । यस्तै ४६० गाउँपालिकामध्ये ५२ स्थानमा प्रमुख प्रशासकीय रिक्त रहेका छन् । गाउँपालिकामा भने शाखा अधिकृत रहने व्यवस्था गरिएको छ ।

कर्मचारी अभाव भएपछि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग तीन हजार १४६ कर्मचारीमा माग गरेको उहाँले बताउनुभयो । करिब दुई महिनाअघि कर्मचारी अपुग भएपछि सुब्बा र खरदार माग गरिएको छ । तर अहिलेसम्म सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाएको उहाँले बताउनुभयो ।

स्थानीय तह शासन आदेश २०७४ ले नयाँ गाउँपालिका र नगरपालिकामा नौ जना कर्मचारी र वडामा तीन जनाका दरले कर्मचारी व्यवस्था गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement