रत्ननगर (चितवन), चितवन जिल्लाको स्थानीय निकाय पुनः संरचनामा लामो समयपछि सहमति जुटेको छ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिका अनुसार जिल्लामा सातवटा स्थानीय निकाय बनाउने गरी दलबीच सहमति भएको हो ।
शनिबार सो सहमतिलाई स्थानीय निकाय पुनः संरचना आयोगमा बुझाउने तयारी गरेको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । आयोगले चितवनमा बढीमा नौ प्रदेश हुने जनाएपछि पुनः छलफल गरी सहमति जुटाइएको हो ।
यसअघि झोरलाङ चेपाङ गाउँपालिकासमेत हुने गरी दुई तहको खाका तयार पारेर पेस गरिएकामा चारदेखि १२ वटा तह हुने गरी दलबाट आ–आफ्नै सुझाव पेस भएको थियो । अहिले पुनः छलफल गरेर स्थानीय निकायको टुङ्गो लगाइएको पोखरेलले बताउनुभयो । दलबीच भएको सहमतिअनुसार भरतपुर उपमहानगरमा चितवन र नारायणी नगरपालिका जोडेर महानगर बनाउने प्रस्ताव छ ।
यस्तै राप्ती नगरपालिकामा लोथर र कोराक तथा कालिका नगरपालिकामा सिद्धि गाविसलाई जोड्ने सहमतिमा उल्लेख छ । माडी, रत्ननगर र खैरहनी नगरपालिकालाई यथावत् राखिएको छ भने पहाडी गाविस काउले, दारेचोक, कविलास, चण्डिभञ्याङ, दाहखानी गाविस जोडेर नयाँ इच्छाकामना नगरपालिका थप गरिएको छ ।
यसअघि प्राविधिक सहमतिले चेपाङ स्वायत्त गाउँपालिका झोरलाङसहित जिल्लामा पाँच देखि सात स्थानीय निकाय बनाउने प्रस्ताव असफल भएकाले अब सन्दर्भ सामग्रीमा मात्रै रहेको समितिका संयोजक पोखरेलले बताउनुभयो । सो समयमा नेपाली काँग्रेसले १२ वटा स्थानीय तह बनाउनुपर्ने प्रस्ताव ल्याएकामा सबै बीच सहमति भएकाले अहिले आफूहरु पनि सात तहमा सहमति जनाएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिले काँग्रेस, माओवादी केन्द्र, राप्रपा र राप्रपा नेपालले १२ स्थानीय निकायको खाका प्रस्तुत गरेका थिए ।
नेकपा (एमाले)ले ६ तथा मालेले चार र जनशक्ति पार्टीले पाँच तहको खाका ल्याएको थियो । नेकपा (माओवादी केन्द्र)का नेता घनश्याम दाहल अविनाशले पहिचानसहितको स्थानीय निकाय पुनः संरचना गर्नुपर्ने मागसहित आफूहरुले पनि समग्रतामा सात स्थानीय निकायमा सहमति जनाएको बताउनुभयो ।
नेकपा (एमाले) चितवनका अध्यक्ष जेएन थपलियाले जिल्लास्तरबाट सबै दलको सहमति आएकाले आफूहरुले ६ तहको खाका बनाए पनि सातमा सहमति जनाएको बताउनुभयो ।