स्थानीय निर्वाचन हुनु नेपाली जनताको जित– प्रम दाहाल

प्रकासित मिति: २२ चैत्र २०७३, मंगलवार १५:१४

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “स्थानीय तहको निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हो, हाम्रो एजेण्डाको जित हो । नेपाली जनताको जित हो, राष्ट्रको जित हो ।”

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज आयोजित आदिवासी जनजाति राष्ट्रिय महासङ्घ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो “कुन पार्टीले जित्छ र कुन पार्टीले हार्छ भन्ने कुरा गौण विषय हो । तर मुलुकले जित्नुपर्छ, नेपाली जनताले जित्नुपर्छ ।”

प्रधानमन्त्रीले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डा नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सङ्घीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्नेमा जोड दिनुभयो ।

परिवर्तनका एजेण्डा खोस्न चाहनेलाई मात्र निर्वाचन नचाहिएको भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले अहिले जे जति उपलब्धि हासिल भएका छन्, ती सबै माओवादीकै एजेण्डा भएको र माओवादी नेतृत्वको सङ्घर्षबाट प्राप्त भएको बताउँदै यी सकारात्मक उपलब्धि रक्षा र संस्थागत गर्ने दायित्व पनि माओवादीकै भएको प्रष्ट पार्नुभयो ।

उहाँले माओवादीको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि हुन पुगेको बताउनुभयो । आफू नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको, राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्न पहल गरिएको उल्लेख गर्नुभयो ।

यस्तै, हुलाकी सडक तथा काठमाडौँ–तराई–मधेस द्रुतमार्गजस्ता ठूला आयोजना छिटो सम्पन्न गर्ने पहल गरिएको, छिमेकीसँग सन्तुलित सम्बन्ध विकास गरिएको, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कैयौँ उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्रीले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता सूर्यमान तामाङ, विवेक शर्मालगायतले माओवादी केन्द्रले अगाडि बढाएका एजेण्डा लिएर निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement