स्वास्थ्य सेवामा सहयोगी हात बढाउँदै जापानी स्वयम्सेवीहरु

सिन्धुली, १८ पुस । “नेपाल मेरो दोस्रो गाउँ हो, यहाँ सबैले माया गर्नुहुन्छ, जापानमा यस्तो माया पाएको थिइनँ,” दुई वर्षअघि नेपालमा स्वयम्सेवी भएर आएकी जापानी परिचारिका कानाको कोनले परराष्ट्र, अर्थ, गृह, शिक्षा र जाइकाका प्रतिनिधिलाई यसरी आफ्ना अनुभव सुनाइन् ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरेको सिन्धुली सडक करिडोरमा पर्ने स्थानहरुमा भएका आर्थिक तथा सामाजिक सशक्तीकरणका कार्यक्रमको अवलोकन गर्ने क्रममा सिन्धुली जिल्ला स्वास्थ्य कार्यालय पुगेका सरकारी अधिकारीहरु कानाकोको कामबाट प्रभावित भए ।

कानाको सन् २०१५ को सुरुमा नेपालको सिन्धुली जिल्ला आएकी हुन् । उनले यहाँका महिलालाई स्वास्थ्यसम्बन्धी जानकारी एवम् त्यसबाट बच्ने उपाएका बारेमा दुई वर्षसम्म निरन्तर जानकारी दिइन् । कानाको महिनावारी भएको समयमा सरसफाइ गर्ने तरिकादेखि ग्रामीण महिलामा देखिएको डरलाग्दा पाठेघर खस्ने समस्या र अन्य यौनिक समस्याको उपचारमा संलग्न रहँदै आएकी थिइन् । उनले यहाँका महिला तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दुई वर्षसम्म शिक्षा दिइन् ।

उनले आफ्ना अनुभव सुनाउँदै भनिन् – “पाठेघर खस्ने समस्यामा परेका महिला उपचार नगरीकन बस्ने धेरै हुनुहुन्थ्यो । सुरुसुरुमा गाउँमा जाँदा मेरो भाषा नबुझेर उहाँहरु हाँस्नु हुन्थ्यो, पछि नेपाली भाषा सिकेपछि उहाँहरुलाई पाठेघर खस्ने समस्याबाट मुक्त हुने तरिका सिकाएँ ।”

बारम्बार गाउँमा गएर सिकाएपछि बुझेका महिलाले नबुझेका महिलालाई सिकाउन थालेकामा उनी खुसी छिन् । गत वर्षको डरलाग्दो भूकम्प जानुभन्दा केही दिन पहिला सिन्धुली आइपुग्नुभएकी जापानी स्वास्थ्य स्वयम्सेवी कानाकोले ग्रामीण महिलामा स्वास्थ्यसम्बन्धी समस्या भयावह रहेको जानकारी दिइन् । कानाकोका अनुसार ग्रामीण महिलालाई महिनावारी हुँदा खाने, बस्ने, अरूलाई छुनसम्म नहुने जस्ता अन्धविश्वासमा बस्नुपर्ने वाध्यता रहेकाले पनि उनीहरुको स्वास्थ्य जोखिमपूर्ण बन्ने गर्छ ।

त्यसैगरी, विद्यालय जाने छात्रामा पनि यस्तै प्रकारका स्वास्थ्य समस्या रहेको र उनीहरुलाई सरसफाइ एवम् यौन शिक्षाबारे ज्ञान दिन आवश्यक उनको बुझाइ छ ।

गर्भावस्थाको परीक्षण, परिवार नियोजन सेवा, शिशुको वृद्धिविकास, नाबालकको मृत्यु तथा कुपोषणका विषयमा जनस्तरमा काम गर्दै आउनुभएकी अर्का स्वयम्सेवी टोमोको नाकानोले सिन्धुली जिल्ला अस्पतालमै रहेर पोषणबारे ग्रामीण जनतालाई चेतना दिँदै आएकी छिन् । उनले पोषणयुक्त खानेकुरा कसरी तयार गर्ने भन्ने विषयमा पोषणसम्बन्धी निर्देशिका बनाएर गाउँगाउँमा शिक्षा दिइरहेकी छिन् ।

उनले पोषणयुक्त खानेकुरा तयार पार्ने तरिका सिकाउने र बालबालिकालाई पोषणयुक्त खानेकुरा दिन प्रेरित गर्छिन् । “स्थानीय उत्पादनबाटै पोषणयुक्त खानेकुरा बनाउन सिकाइरहेकी छु,” टोमोकोले भनिन् ।

सोही समयमा नेपाल आएकी किमियो निशिदाले धुलिखेल अस्पतालमा स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा सहयोग गर्दै आएकी छिन् । उनले यस क्षेत्रका सामुदायिक विद्यालयमा पनि स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएकी छिन् ।

त्यसैगरी, अर्का स्वयम्सेवक उमी फुकुओका धुलिखेल अस्पतालको गाइनेकोलोजीमा काम गर्दै आएकी छिन् । उनले विपद्मा स्वास्थ्य सेवालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा त्यहाँका चिकित्सकसँग सहकार्य गर्दै आएकी हुन् । मिडवाइफको भूमिका पनि निर्वाह गर्दै फुकुओकाले लेवर रुममा रहेर अस्पताललाई सहयोग पु¥याउँछिन् ।

अकिको मिवा यसै अस्पतालमा साइकोथेरापी विभागमा काम गर्छिन् । यहाँका चिकित्सक एवम् परिचारिकासँग सहकार्य गर्दै आएकी अकिकोले धुलिखेल सामुदायिक अस्पतालमा रहेर नेपाली चिकित्सकलाई हाडजोर्नीसम्बन्धी जटिल समस्या भएका बिरामीको उपचारमा सहयोग गर्दै आएको प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुले बताए । उनका अनुसार जाइकाले खटाएका स्वयम्सेवकले समुदायमा राम्रो सन्देश पु¥याएका छन् ।

स्वास्थ्य सरोकारलाई प्रतिविम्बित गर्ने मुख्य सूचकमा औसत आयु, नवजात शिशुको मृत्युदर, मातृ मुत्युदर र पाँच वर्षभन्दा मुनिका बालबालिकको मृत्युदर नै हो । मृत्युदर घटाउन स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनै पर्छ । यस क्षेत्रमा सहयोग गर्न सामुदायिक स्तरमा जनताको सशक्तीकरणमा जाइकाले जोड दिँदै आएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको निर्माणमा जाइकाले महत्वपूर्ण सहयोग पु¥याएको छ ।

सामुदायिक स्वास्थ्यमा सुधार ल्याउन जाइकाका स्वयम्सेवकले दिँदै आएको योगदान विशिष्ट प्रकृतिका छन् । जाइकाका वरिष्ठ स्वयम्सेवकहरुले नेपालको नर्सिङ परिषद्सँग पनि सहकार्य गर्दै आएका छन् । जैविक चिकित्सकीय इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका वरिष्ठ स्वयंसेवकहरुलाई नेपाल पठाएर जाइकाले नेपालका सरकारी अस्पताललाई सहयोग गर्दै आएको छ ।

त्यसैगरी, राष्ट्रिय टिबी अनुसन्धान केन्द्र, नर्सिङ विद्यालयको निर्माण, कान्ति बाल अस्पतालको विस्तार, आयोडिनयुक्त नुनको भण्डारण गर्ने भवन निर्माण र खोपको विस्तारित कार्यक्रमका लागि उसले निरन्तर सहयोग गर्दै आएको छ ।

शैक्षिक स्वयम्सेवी पनि

शिक्षाले मानव विकासमार्फत गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्छ । नेपाल सरकारको शिक्षा क्षेत्र सुधार कार्यक्रममा पनि जाइकाको सहयोग छ । विसं २०७२ वैशाखको भूकम्पमा भत्किएका विद्यालय भवनको पुनःनिर्माणमा जापानले सहयोग गर्दै आएको छ ।

हिकारु मियाहाराले यहाँको कमला उच्च माविमा विगत दुई वर्षदेखि निरन्तर रुपमा निम्न माध्यमिक तहका विद्यार्थीलाई शिक्षा दिँदै आएका छन् । उनले विशेषगरी शारीरिक शिक्षा, विपद् रोकथाम जस्ता विषयमा स्थानीय जनतासँग प्रशिक्षित गर्छन् ।

जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि जुन साकुमाले जापानी स्वयम्सेवकमार्फत नेपालका ग्रामीण समुदायमा पुगेर शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पु¥याउन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । “नेपालीप्रतिको मायाका कारण जापानी जनताका सहयोगी हातहरु अगाडि बढेका हुन्,” उनले भने ।

जापानी स्वयम्सेवकको कार्य अवलोकन गर्न धुलिखेल एवम् सिन्धुली पुग्नुभएका शिक्षा मन्त्रालयका उपसचिव नन्दलाल पौडेल जापानले नेपाललाई पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा ठूलो सहयोग गर्दै आएको र जापानी स्वयम्सेवकको कार्य सराहनीय भएको बताउँछन्

Related posts

Leave a Comment