हाइड्रो–पावरजस्तै युवाशक्ति ः पूर्वमन्त्री ढकाल

प्रकासित मिति: १५ श्रावण २०७४, आईतवार १०:२६

भक्तपुर । पूर्वमन्त्री एवं सांसद एकनाथ ढकालले युवाशक्ति हाइड्रो–पावरजस्तै रहेको बताएका छन् । जसरी नदीमा बगिरहेको पानीमा अथाह शक्ति हुन्छ, त्यसैगरी युवाहरूमा पनि अथाह शक्ति हुन्छ भन्दै उनले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विश्वशान्ति तथा एकिकृत परिवार संघ नेपाल, भक्तपुर शखाको आयोजना तथा विश्वशान्ति युवा संघ र विश्व सिद्धान्त अनुसन्धान महाविद्यालय संघ सह–आयोजनामा दूधपाटीस्थित सिद्धपोखरी पार्टी प्यालेसमा आइतबार सुरु भएको ५ दिने नेतृत्व विकास एवं जीवनापयोगी सेमिनारको उद्घाटन गर्दै पूर्वमन्त्री ढकालले सो कुरा बताएका हुन् ।

‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेको उनले बताए ।

विश्व शान्ति तथा एकीकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । युवाहरूको आवश्यकता, परिवर्तित मनोविज्ञान बुझेर सोहीअनुसारको शिक्षा उनीहरुलाई दिनु नितान्त आवश्यक रहेकोमा उनले जोड दिए । पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । उनले युवाहरुले नैतिक धरातललाई भने सधैँ उच्च राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा. कृष्ण पोखरेल, रामपुर कलेज चितवनका प्राध्यापक डा. होम बस्नेत, सिर्बड इन्टरनेशनल कलेजका प्राचार्य सुरेन्द्र विक्रम प्रजापतिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यस्तै, वल्र्ड कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारी, विश्व शान्ति युवा संघका अध्यक्ष प्रकाशबाबु थापा, युपीएफ नेपालका शान्तिदूत एवं एभरेष्ट स्कुलका संस्थापक निर्देशक भक्त राजभण्डारी, विरेन्द्र सैनिक उमाविका प्रिन्सिपल सुरेन्द्र पनेरु, सनसाइन नेशनल स्कुलका प्रिन्सिपल पुण्यप्रसाद ढकाललगायत व्यक्तिहरूको उपस्थिति थियो ।

‘शान्ति स्थापनाका लागि युवा र विद्यार्थीको भुमिका’ विषयमा भएको सो सेमिनारमा विभिन्न कलेजबाट झण्डै ४ सय युवायुवतीहरूको सहभागिता रहेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षकद्वारा ५ दिनसम्म प्रशिक्षण हुने सेमिनारमा युवा सशक्तिकरण, नैतिक तथा चारित्रिक निर्माण लगायतका विषयमा प्रशिक्षण हुने आयोजकले जनाएको छ । आयोजक संस्थाले स्थापनाकालदेखि नै लागुऔषध दुव्र्यसन, यौन विकृति, उच्छृङखलता तथा अनैतिक क्रियाकलापको विरुद्धमा आवाज उठाउँदै आमुल परिवर्तनका सम्वाहक युवाशक्तिलाई रुपान्तरणकारी भुमिका निर्वाह गराउने उद्देश्यले यसप्रकारका कार्यक्रम र अभियान चलाउँदै आएको विश्व शान्ति तथा एकीकृत परिवार संघ, भक्तपुरका संयोजक रामबाबु रानामगरले बताए ।

Bhansar Bivag
Argakhachi Cement