दिपेन्द्र पौडेल
पोखरा । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो ।
२२ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । ‘आज बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शव भेटिएको हो’, भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले भने, ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।’
शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको सई क्षेत्रीले जानकारी दिए । यसै विच शव पहिचान पछी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट शव परिक्षण गरी आजै तुलसी घाटमा दाहसंस्कार गरिएको छ।
पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।