काभ्रे । २५ वर्षपछि काभ्रेस्थित बनेपाको लायकु र गणेशस्थानमा मुकुन्डो देवी नाच हुने भएको छ । नेवार समुदायभित्रका पनि डंगोल, महर्जन र तुलाधरले २६ पुसमा ‘श्वेतकालीन नरदेवी नेटमरु अजिमा’ नाच गर्न लागेका हुन् । श्वेतकालीन संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण डंगोलले नाचका लागि खाने, बस्ने सुविधा र स्वास्थ्य शिविर सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताए । पहिले पहिले यस नाचका लागि तत्कालीन राजाले सहयोग गर्दै आएका थिए । तर, व्यवस्था परिवर्तन भएसँगै पछिल्ला सरकारले यो नाचको संरक्षण र प्रवद्र्धनका लागि बेवास्ता गर्दै आएका छन् । गुठीका गुठियारले व्यक्तिगत रूपमा संकलन गरेको ३ लाखबाट सो नाच हुन लागेको छ । ललितपुर र कीर्तिपुरमा सम्पन्न भइसकेको सो नाच शनिबार भक्तपुरमा पनि हुँदै छ । देशमा दैवी प्रकोप नहोस् र नागरिकले सुरक्षित जीवनयापन गर्न पाऊन् भन्ने धार्मिक विश्वासले विगत लामो समयदेखि यो नाच देखाइँदै आइएको छ । अनुष्ठानिक र मनोरञ्जनात्मक दुईखाले हुने सो मुकुन्डो नाच बनेपामा अनुष्ठानिक विधिमा हुन लागेको हो । तान्त्रिक विधिबाट पूजाआजा गरिने भएकाले यसलाई अनुष्ठानिक भनिएको हो । नाचमा काठमाडौंको नरदेवीबाट २ सय जनाको सहभागिता हुँदै छ । पहिलो दिन विधिपूर्वक पूजाआजा हुन्छ, त्यसपछि देवीले पदभार ग्रहण गर्छन् र नाच नाच्छन् । नाच सकिएपछि देवी चण्डेश्वरी माताको पूजा हुने गरेको छ । श्वेतकालीन देवी चण्डेश्वरी आफ्नो माता भएकाले बनेपामा नै सो नाच हुनेछ । बाजागाजासहित आयोजना हुने सो नाचको आवाज गर्भवती महिलाले सुने गर्भवती महिलाबाट जन्मने शिशु अंगभंग हुने धार्मिक विश्वाससमेत छ । यो नाच हेर्न, पाँचखाल, नमोबुद्ध, दाप्चा क्षेत्रबाटसमेत स्थानीयवासी बनेपा आउँछन् ।