चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिंगे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ। कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन्।
गैँडाको वैकल्पिक संख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
थप सात गैँडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिए। उनका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरुप प्रदान गरिएको छ।