८ सय २ जनाको उम्मेदवारी दर्ता

प्रकासित मिति: ६ कार्तिक २०७४, सोमबार ०३:०१

आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताए।

नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफैमा पनि ऐतिहासिक रहेको बताउँदै उनले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गरे।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभा सभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो।

Bhansar Bivag
Argakhachi Cement