उपाधिका लागि प्रशिक्षणमा सक्रिय एउटा गाउँका खेलाडीले धानेको छ सुदूर पश्चिमको हक्की

प्रकासित मिति: ४ पुष २०७३, सोमबार १२:१९

कञ्चनपुर(भीमदत्तनगर),। आगामी साता विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारीका लागि जिल्लाका महिला तथा पुरुष हक्की खेलाडी प्रशिक्षणमा सक्रिय छन् ।

हक्कीमात्रै नभएर प्रतियोगितामा छनौट भएका साढे चार सयभन्दा बढी खेलाडी आ–आफ्ना खेलको प्रशिक्षणमा जुटिरहे पनि हक्की खेलको बिँडो भने सुदूरपश्चिमकै लागि कञ्चनपुरले मात्रै धानेको छ ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा हक्की कञ्चनपुर बाहेक अन्य कुनै जिल्लामा छैन । सो प्रतियोगिताका लागि छनोट भएका १८ सदस्यीय महिला तथा पुरुष हक्की खेलाडी सबै कञ्चनपुरकै हुन् ।

विसं २०५६ देखि कञ्चनपुरमा हक्की खेल खेल्न थाले पनि नेपालकै हक्की खेलमा यहाँको टोली बलियो रुपमा देखापरेको हक्कीका सहायक प्रशिक्षक नरबहादुर चन्दको भनाइ छ ।

उहाँले भन्नुभयो– “पुरुष टोली पाँचौँ राष्ट्रिय प्रतियोगितादेखि प्रतिस्पर्धामा उत्रिएको हो , महिला टोली भने पहिलो पटक सातौँ प्रतियोगितामा प्रतिस्पर्धाका लागि मैदानमा आउँदैछ ।” पाँचौँ र छैठौँ राष्ट्रिय हक्कीमा च्याम्पियन बनेका खेलाडी आगामी प्रतियोगितामा उपाधिका लागि कब्जा जमाउने रणनीतिका साथ साँझ, बिहान प्रशिक्षणमा सक्रिय भएको सहायक प्रशिक्षक चन्दले बताउनुभयो ।

“हाम्रो राष्ट्रिय स्तरमा प्रतिस्पर्धा भनेकै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित हो ।” उहाँले भन्नुभयो – “हामी उपाधिविहीन भएको कुनै प्रतियोगिता छैन ।” हाल सुदूरपश्चिमको पुरुष तथा महिला हक्की टोलीमा १४ देखि २५ वर्षसम्मको उमेर समूहका नयाँ तथा पुराना खेलाडी छन् । सबै खेलाडी मानसिक र शारीरिक रुपले तयार छन्, नयाँ अनुहारको जाँगर र पुरानाको अनुभवले सफलता मिल्नेमा आशा छ सहायक प्रशिक्षक चन्दले भन्नुभयो ।

त्यसैगरी गत वर्ष भारतको गोवाहिटीमा सम्पन्न साफ खेलकुदमा नेपाली महिला हक्की टोलीको नेतृत्व गर्नुभएकी महिला खेलाडी तुलसी डगौराले फेरी महिला टोलीको नेतृत्व गर्नुहुने भएको छ । “सो प्रतियोगिताका लागि महिला टोलीमा सातजना साफ खेलकुदको अनुभव लिइसकेका खेलाडी छन् ।” तुलसीले भन्नुभयो – “सातौँमा उपाधि जित्न धेरै गाह्रो नहोला ।”

“साफमा त हामीलाई पहाडसित लड्न गएजस्तो भयो ।” उहाँले भन्नुभयो, “त्यहाँ त हाम्रो मैदानको स्तरबाटै धेरै सिक्ने मौका मिल्यो ।”
्््््“सुदूरको हक्की कञ्चनपुरकै भरमा छ ।” सहायक प्रशिक्षक चन्दले भन्नुभयो, हक्कीमा देशकै बलियो देखिएको आर्मी क्लबमा पनि आफूले उत्पादन गरेका खेलाडी छन् ।

एउटै गाउँका खेलाडी हक्की टोलीमा

सातौँ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका १८मध्ये १७ जना सुदूरपश्चिमको हक्की खेलको टोली एउटा गाउँको हो भन्दा पत्यार नलाग्न सक्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका खेलाडीले त्यो यथार्थ सावित गरेका हुन्् ।

प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने पुरुष हक्की टोलीमा १७ खेलाडी उल्टाखाम गाउँका हुन् । हक्की प्रशिक्षक नरबहादुर चन्दले भन्नुभयो – “उल्टाखामबाट दर्जनौँ खेलाडीले साफ र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।”

“सेनाको क्लबमा पनि महिला र पुरुष गरी चारजना खेलाडी उल्टाखामका छन् ।” चन्दले भन्नुभयो – “हक्की खेलाडी उत्पादन गर्ने मुहान नै उल्टाखाम बनेको छ ।” सुदूरका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका साथै आदिवासी जनजातिसमेत बसोबास गर्ने उल्टाखाममा हक्की खेलाडी जन्माउने थलोका रुपमा परिचित भएको छ ।

उल्टाखामसँगै जोडिएको बागफाँटा स्कुलमा हक्की खेलाडी नियमित प्रशिक्षणमा जुट्ने गरेका कारण पनि सुदूरपश्चिमको टोलीमा त्यहाँको खेलाडी बढी परेको चन्दले बताउनुभयो । “भीमदत्तनगर बजारको खेलाडी भनेको एकजना मात्रै छ ।” उहाँले भन्नुभयो – “बजारका युवा खेल्न आउन मान्दैनन्, गाउँका स्कुलमा गएर खेल्न विद्यार्थीलाई डो¥याएर ल्याउनुपर्छ ।” प्रतियोगिता भएसँगै हरेक वर्ष नयाँ खेलाडी उत्पादन हँुदै गइरहेको चन्दको भनाइ छ । “आगामी प्रतियोगिताका लागि छनोट भएकामध्ये धेरै नयाँ अनुहार हुन् ।” उहाँले भन्नुभयो – “नयाँ र पुराना सबै खेलाडी उल्टाखामकै हुन् ।”

झन्डै छ वर्ष पहिले सुदूरपश्चिममा भएको छैठौँ हक्की प्रतियोगितामा हक्कीमा सुदूरपश्चिम च्याम्पियन बनेको थियो । अन्तिम चरणमा आर्मी क्लबलाई १–० गोल अन्तरले पछि पार्दै सुदूरपश्चिमले उपाधिमाथि कब्जा जमाएको प्रशिक्षक चन्दले बताउनुभयो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट विभिन्न खेलका ४९२ भन्दा बढी खेलाडी सहभागी हुँदैछन्

Bhansar Bivag
Argakhachi Cement