एकता र सहकार्यका आधारमा अगाडि बढेका छौँ– प्रम दाहाल

प्रकासित मिति: १९ फाल्गुन २०७३, बिहीबार १५:२८

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा सरकार स्थानीय तहको निर्वाचनमा जुटेको र एकता र सहकार्यका आधारमा नै आफू अगाडि बढिरहेको बताउनुभएको छ ।

दोस्रो लगानी सम्मेलनका लागि आज मात्रै यहाँ आइपुग्नुभएका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीले प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्रीले सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताउनुभयो ।

प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्रीले हुलाकी राजमार्ग, प्रसारण लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत् आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न वित्तमन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्वयनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराउनुभयो । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

भेटमा वित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो ।

जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले अघि बढाएको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement