खलो उठाएर परिवार पाल्ने जनेले छोरोका उपचार गराउन सकेन

प्रकासित मिति: ४ पुष २०७३, सोमबार १२:१४

ढिमे (जाजरकोट)। ढिमे घरङ्गाका अमरबहादुर आग्री अहिले ओछ्यानमा थला पर्नुभएको छ । बोल्न, सुन्न र हिँड्डुल गर्न नसक्ने आग्री अहिले १७ वर्षको हुनुभयो । गरिब परिवारका उहाँ अरूको सहारामा बाँचिरहनुभएको छ ।

हात, खुट्टा नचल्ने, कान नसुन्ने र बोल्न पनि नसक्ने अमरको स्याहारका लागि एकजना दैनिक हेराला बस्नुपर्ने बाध्यता रहेको छ उहाँको परिवारलाई । घरको कुनै पनि परिवारका सदस्यले अमरले खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उहाँ आफ्नै ओछ्यानमा आफ्नै दिसा र पिसाबसँगै पल्टिरहनुहुन्छ । उहाँको यो अवस्थाको हेरचाह बाबुआमाले गर्दथे ।

आमाको मृत्यु भएपछि झनै समस्या परेको अमर कसैले इसारा गरेर बोलेपछि बुझेजस्तो गरी चल्न र पल्टिन खोज्नुहुन्छ, तर उहाँको शारीरिक अवस्थाले त्यो चाहना कहिल्यै पूरा हुन दिँदैन । उहाँलाई दैनिक खुवाउने खाना पनि झिङ्गाले फोहरै फोहर बनाएको हुन्छ । अरूको सहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्नुहुन्न ।

जन्मजातदेखि कै अमरको यो समस्यालाई आमाबुबाले उपचारको साटो उल्टै गाउँमै धामीझाँक्रीको मात्रै लगे । अरु उपचार गराउन सकेनन् । गाउँमा एक सिन्को पनि सम्पत्ति नभएका अमरका बाबु जने आग्रीले अर्थाभावमा अमरलाई धामीझाँक्रीबाहेक अन्यत्र कतै उपचारका लागि लान सकेन । धामीझाँक्रीका कारण अमरले कुनै उपचार पाउन सकेनन् । आमाले अमरको हेरचाह गर्दा बाबुले कमाउने र परिवार पाल्ने बाबुले हेरचाह गर्दा आमाले परिवार पाल्ने काम गर्ने गरेका थिए ।

अमरकी आमाको मृत्यु भएपछि बाबु जनेलाई परिवार पाल्न झनै समस्या भयो । अमरलाई हेरचाह गर्ने श्रीमती हुँदा गाउँको स्थानीय सामुदायिक वनको हेरालुको काम गरेर दिएको अन्नबाट दैनिक परिवार पालिरहेको थिए । श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकाले नियमित रुपमा काम गर्न नसकेको जनेले बताउनुभयो । आफूसँग पैसा नभएकाले सुविधासम्पन्न ठाउँमा लगेर छोराको उपचार गराउन नसकेको जने स्वीकार्नुहुन्छ ।

जनेको नाममा गाउँमा कुनै पनि सम्पत्ति छैन । सम्पत्ति नभएर सुकुम्वासी भएका जनेलाई अहिलेसम्म कुनै सरकारी, गैरसरकारी निकायले सहयोग गरेको छैन । जन्मजातदेखि नै हातखुट्टा नचल्ने तथा बोल्नसमेत नसक्ने अमरलाई अहिलेसम्म पनि कुनै सुविधा कतैबाट प्रदान गरिएको छैन । यस्तो अवस्थाको छोरालाई कतैबाट सहयोग हुन्छ कि भनेर गाविस हँुदै छोरोलाई सदरमुकाममा लिएर गएको तर आफ्ना कुरा कसैले नसुन्दा पुनः घरमै लिएर आएको जनेले दुखेसो सुनाउनुभयो । घरमा जनेका चार छोरा र पाँच छोरी रहेका छन् । जेठी छोरीको विवाह भएको र जेठो छोरा भारत गएर घर नआएकाले जनेलाई परिवार पाल्न समस्या छ ।

कुनै पनि सम्पत्ति नभएकाले जनेको परिवारको बसोबासका लागि गाउँका सबै मिलेर सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरो बनाइदिएको छ । परिवार ठूलो भएको र काम गरिखाने अवस्थाका कोही नहँुदा गाउँको सामुदायिक वनको हेरालु बनाई गाउँभरिबाट एक सय ३८ घरधुरीले धान, मकै, गहँु, जौ उठाएर दिने गरेको राम सिंहले बताउनुभयो । जनेलाई गाउँले त्यतिकै दिन असहज मान्ने गरेकाले वन हेरालु बनाई त्यसबापत अन्न दिने गरेका छन् । ढिमे–४ घरङ्गामा रहेको सामुदायिक वनबाट जनेको परिवारलाई पालिएको छ ।

जनेले सरकारले वितरण गरेको हलिया परिचयपत्र पाउनुभएको छ । सरकारले प्रमाणित गरेको हलियाको विवरणमा जनेको नाम छ तर कुनै सुविधा भने लिन पाउनुएका छैनन् ।

Bhansar Bivag
Argakhachi Cement