निर्माण भएको १२ वर्षपछि ब्लड बैंक उद्घाटन

प्रकासित मिति: ६ पुष २०७३, बुधबार ०४:०४

गाईघाट (उदयपुर), ६ पुस । जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रको छेउमा निर्माण भएको ब्लड बैंक (रक्त संचार) भवन निर्माणकार्य सम्पन्न भएको १२ वर्षपछि बल्ल उद्घाटन भएको छ ।

उक्त भवनको मङ्गलबार उदयपुरको बोक्से, गाईघाटमा एक औपचारिक कार्यक्रमबीच स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको छ ।

विसं २०६१ फागुन महिनाबाट तत्कालीन सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बाको निर्देशनमा निर्माण कार्य सुरु भएको जिल्ला अस्पताल उदयपुरको ब्लड बैंक भवन २०६२ सालमा नै निर्माण कार्य सम्पन्न भएको कुरा जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

भवन निर्माण कार्य सम्पन्न भएर जिल्ला अस्पतालले ब्लड बैंक सञ्चालनको लागि जिल्ला रेडक्रस सोसाइटी उदयपुरलाई जिम्मा लगाइएको भए तापनि १२ वर्षसम्म पनि भवन उद्घाटन हुन सकेको थिएन ।

यस्तै, मङ्गलबार भवनको औपचारिक उद्घाटन भएपछि अब जिल्ला अस्पतालको लागि तत्काल नै जिल्ला रेडक्रस उदयपुरले ब्लड बैंक सञ्चालन गर्न समेत लागेको कुरा रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले बताउनुभएको छ ।

बाह्र वर्षसम्म पनि ब्लड बैंकको भवन सञ्चालनमा नआउँदा जिल्ला अस्पताल उदयपुरमा आउने बिरामीले सिरहाको लहान तथा सप्तरीको राजविराजसम्म रगतको लागि जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

भवन उद्घाटन समेत भएकाले अब तत्काल नै ब्लड बैंक सञ्चालन गर्न लागेकाले अब जिल्लावासीले रगतका लागि अन्यत्र दुःख पाउन नपर्ने कुरा रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले बताउनुभएको छ ।

चार कोठासहितको एकतले उक्त पक्की ब्लड बैंक भवन निर्माण त्यसबेला साढे दश लाख रुपैयाँ बजेटमा निर्माण कार्य सम्पन्न भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement