– श्याम नेपाल
हामी नेपालीले थाहा पाएका खरेल भेनेका आ–आफनो क्षेत्रमा धेरै होलान् । सुरक्षाका मामलामा चिनिएका खरेल भनेको अच्युत कृष्ण खरेलको नाम जोडिन आउँछ ।
अच्युत कृष्ण खरेल नेपाल प्रहरीका एक ख्याति प्राप्त प्रहरी महानिरिक्षक थिए र मलाई के थाहा थियो भने द्वन्दकालमा द्वन्द चरम उत्कर्षमा पुगेका बेला डोल्पा जिल्लाको सदरमुकाम दुने मा विद्रोहीपक्षबाट भिषण आक्रमणमा जिल्ला प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको, बैक लुटिएको र कारागारमा आक्रमण हुनुका साथै सदरमुकाम नै ध्वस्त भएकोले तत्कालीन शाही नेपाली सेनाको अगाडि नै यस्तो घटना घट्दा सेनाको कुनै भुमिका नभएको विषयलाई लिएर आ–आफ्नो पदबाट तत्कालीन गृहमन्त्री र तत्कालीन आई.जी.पी. अच्युत कृष्ण खरेलले अघि पछि गरेर राजिनामा दिएको जानकारी त थियो नै तै पनि धेरै दिन पछि आएर आई.जी.पी. अच्युत कृष्ण खरेलले लेखेको अच्युत कृष्ण खरेल नामको आत्मकथा पढे पछि राजनीतिको प्रभाव र तत्कालीन शाही नेपाली सेनाको भूमिका इत्यादिमा पनि ध्यान पुग्ने गरी लेखिएको रहेछ । किताब पढ्दै जाँदा कति साँचो कति अलिक बढाएको भन्ने जस्ता कुराहरु पनि हुन्छन्, यसबारे धेरै विद्वानहरुको, पूर्व गृहमन्त्रीको तथा अन्य जानकार मित्रहरुका पनि प्रतिकृया आए । यतिकैमा किताब बारे अध्ययन गरिँदै रहँदा द्वन्दकै कुरालाई लिएर एउटा अर्को किताब बारुद माथि उड्दा फेला पर्यो । यसका लेखक क्याप्टेन रामेश्वर थापा रहेछन् । यी दुवै किताबहरुलाई समान रुपले अध्ययन गर्दा तत्कालीन शाही नेपाली सेनाको द्वन्दको अवस्थामा अलिक फरक खालको कार्यशैली या फरक उद्देश्य पनि बुझिन आउँछ । म आफू पनि अवकाश प्राप्त प्रहरी अधिकृत भएको कारणले अच्युत कृष्ण खरेललाई चिन्ने नै भएँ तर क्याप्टेन रामेश्वर थापाको हकमा किताब मात्र पढ्न पाएँ व्यक्तिगत रुपमा मैले उहाँलाई चिनेको छैन तर किताबको समीक्षा गरेर केही भन्न भन लाग्यो । आइ.जी.पी. अच्युत कृष्ण खरेल फुटवल खेलाडी हुँदा सबैका साझा व्यक्ति भएर वाह–वाह भएको जनाकारी पनि छ किताबले पनि भन्छ, जिल्लामा पोस्टिङ्ग हुँदा सज्जनबाट वाहवाह पाएको, गुण्डा प्रकृतिका व्यक्तिहरु रिसाएको स्वाभाविक कुरा हो । २०४६ सालको जन आन्दोलनमा सशक्त भूमिका निभाई सरकारले भनेको काम गर्नु पर्ने भएर राम्रो सित कर्तव्य निभाएको देखिन्छ । भारत स्वयं स्वतन्त्र हुँदाका बखत प्रहरीहरुले अंग्रेजको आदेशले काम गर्नु पर्ने हुँदा स्वतन्त्र भए पछि पनि गृहमन्त्री पटेलले त अंग्रेजको आदेश मानेकोमा राम्रो प्रहरी भनेर पुरस्कार गरेको भनी भारतीय प्रहरीको जानकारीबाट हामीले सुनेका छौँ । सारै संवेदनशील पाटो चाहिँ चर्चित दुनै घटनामा प्रधान सेनापति लगायत तत्कालीन शाही नेपाली सेनाले असहयोग मात्र नभएर क्याप्टेन रामेश्वर थापाको किताबको पा.नं. १३९ मा त विद्रोही छापामार र सेनाका जवानहरु सँगै जसो खेलकुदमा भाग लिने गरेको अथवा उनीहरु बिच राम्रो सम्बन्ध हुने गरेको लेखक स्वयं चस्मोदित गवाह भएकोले यसमा सेनाको भूमिका धेरै अवस्थाले शंकास्पद देखिन्छ । २०५९ सालमा म स्वयं जि.प्र.का सिरहामा केही दिन इंचार्ज रहँदा दिवंगत पृतनापति प्रदीप प्रताप बम मल्लले प्र.जि.अ.सहित हामी सँग व्यक्तगरेका कुरा कि सरकारले हामीलाई केही नदिएको प्रहरीलाई मात्र दिएको भनी व्यक्त गरेका कुराले पनि सेना पुर्वाग्रही थियो भन्ने अवस्था मलाई पनि लागेको थियो । साथै क्याप्टेन रामेश्वरको किताबमा पूर्व क्षेत्रका पृतनापतिले सांस्कृतिक कार्यक्रम लिएर सेनाको रोल भन्दा फरक कार्यक्रमबाट सेनालाई लोकप्रिय बनाउन खोजेको पाना नं. १९२÷१९३ ले प्रष्ट पार्दछ । तत्कालीन शाही नेपाली सेना ठूलो भ्रममा थियो लोकप्रिय हुनेमा यो माथिका कृयाकलपाबाट प्रष्ट हुन्छ । यो पनि यथार्थ हो त्यस बेलाको दरबारमा रहेको शक्ति एकदम महत्वाकांक्षी थियो त्यो भन्दा अझ बढि यथार्थ चाहिँ राजा बीरेन्द्र दरबार भित्र भूलभुलैयामा रहेको कुरा अच्युत कृष्ण खरेलले दरबारबाट ठाडोे दवावमा दिएको राजिनामाबाट प्रष्ट हुन्छ । दुने घटना पछि तु राजिनामा दिए रे अब दरबारले हाल आएर पायो के त ? पायो भने हत्याकाण्ड त्यस पछि श्रीपेच त्याग ।
एउटा रणनीतिकै अधारमा राजिनामा प्रकरण शुरु भएको यथार्थ हो – (१) दुनै घटनामा शाही नेपाली सेनाको मौनता त्यसपछि निस्कृयता (२) तत्कालिन गृहमन्त्रीको राजिनामा (३) केही दिन पछि प्रहरी महानिरिक्षकको राजिनामा (४) केही महिना पछि प्रधानमन्त्रीकै राजिनामा, त्यसपछि क्रमशः राजनीतिको असली खेल शुरु हुँदै अहिले कस्तो अवस्थामा हामी छौँ यस बारेमा हामीलाई छर्लङ्ग त छँदैछ भने अर्को तर्फ एउटा न्याय प्रेमी प्रहरी महानिरीक्षकलाई पाखा लगाएर फेरि उल्टै अकुत सम्पत्तिबारे हुन्छ हजुर भन्ने शैलीको अख्तियारले छानविन गरेको मिसिललाई धन्न स्वतन्त्र न्यायापालिका थियो र तेस्ता निडर र निष्कलंक राष्ट्रसेवकले न्याय पाए तर दरबारको शक्तिले दुःख दिनबाट अछुतो त कहाँ रहेछन् र ?
क्याप्टेन रामेश्वर थापाले करिब ३८ गोटा अपरेशनमा आफु सुरक्षा कर्मी लिएर गएको र सबै ठाउँहरुमा नै आर्मीको मनोबल कम देखाएका छन् यद्यपि आर्मीको आफ्नै मुल्य र मान्यता होला तर पनि कस्तो चाहीँ मुल्य हो त ? आर्मी कहिले पनि आफ्नो उद्देश्यमा अघि बढ्न सकेन । अनि अर्को कुरा कसरी पनि बुझौँ भने आर्मीले न त त्यस बेला प्रहरीलाई सहयोग गर्न सकेको देखिन्छ न त आफूले बहादुरी गर्न सकेको देखिन्छ न त दरबारमा राम्रो भूमिका निर्वाह गर्न सकेको देखिन्छ । अत्युत कृष्ण खरेल नामक किताबको पेज नं. २६ मा खरेललाई हटाए पछि सेनाको पूर्ण सहयोग रहन्छ भनेको कुरामा राजा बीरेन्द्रले कति पत्याउनु पर्ने विषय थियो र ? खरेललाई पदमा राखेर काम लिन किन राजाले अथवा दरबारले अथवा तत्कालीन सरकारले सकेन ? के खरेल फौजि जीवनमा अयोग्य थिए या आइ.एन.जि.ओ. जस्तो हिसाबका भएनन् ? यी यस्ता प्रश्नहरु छन जसलाई हेर्दा यो समस्या अच्युत कृष्ण खरेलको मात्र नभएर भविष्यमा बन्न जाने प्रहरी संगठनको स्वरुपलाई पनि सम्झनु पर्दछ । अच्युत कृष्ण खरेल आत्मकथाको पाना नं. २२ को दोश्रो हरफमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले तत्कालिन आई.जी.पी. अच्युत कृष्ण खरेललाई केही भन्न खोजेको तर नसकेको यसमा खरेलले नै प्रधानमन्त्रीलाई सजिलो पार्न उक्काएको कुराले खरेल पदका लोभी थिएनन्, यस्तै कुरा भारतीय प्रधान मन्त्री इन्दिरा गान्धीका अगाडि तत्कालिन प्रधान सेनापति मानेक शाले आफू माथि शंका छ भने म राजिनामा दिन्छु भनेका थिए र इन्दिरा गान्धीले शंका छैन भन्दा एक ढिक्का भएर बंगलादेशमा शत्रुसेनालाई आत्म समर्पण गर्न १३ दिन मात्र लागेको थियो तर यहाँ तेसो भएको देखिएन । आइ.जी.पी.ले विश्वास नभए राजिनामा दिन तैयार भएको प्रजातान्त्रिक सरकार दरवार सित डराएको, राजिनामा लिएर पनि चलेको युद्ध जित्न न सकिएको यी यस्ता प्रश्नहरु छन् जो आजै देखि सुरक्षा निकायहरुले अध्ययन गर्न जरुरी छ खास गरी प्रहरी नेतृत्वले ।
सशस्त्र प्रहरी बलका आई.जी.पी. कृष्ण मोहन श्रेष्ठको हत्या पछि क्याप्टेन रामेश्वर थापाको किताबले अझ कौतुहलता पैदा गरेको छ । बारुद माथि उड्दा भन्ने किताबको पे.नं. १७३ ले कसैको हात भनी खोजबिन गरी निक्र्यौलमा पुग्ने ठाउँ देखाएको छ या त सम्बन्धित पक्षले खण्डन गर्नुपर्दछ ।
मेरो निष्कर्षमा भन्नु पर्दा अच्युत कृष्ण खरेल सर्वाधिक लोक प्रिय प्रहरी महानिरीक्षक हुन् । उनको तेजोबध गर्न धेरै पक्षले काम गरेको छ । उनको कामको प्रकृतिले गर्दा फुटबल खेल्दा जस्तो साझा हुन सक्ने अवस्था चाहिँ रहँदैन । एउटा सम्झना आउँछ भारतीय फिल्म अभिनेता अमिताब बच्चनको । उनी सांसद भए पछि भनेका थिए म फिल्मी कलाकार हुँदा साझा थिएँ अहिले सांसद भए पनि कसैको शत्रु भए भने जस्तै अमिताब बच्चन फेरी कलाकार भई फर्के राजनीति छोडे तर खरेल लाई फुटबल खेलाडी मा फर्कने अवस्था छैन । खरेल सेवा निवृत्त भए तर उनको मनबाट प्रहरीको भविष्य प्रति चिन्ता गरिएको हुन्छ । उनले राजदुत पद गुमाउनु प¥यो, त्यो पद त मेन पावर कम्पनीका मनिसले पनि पाएका छन् त्यो भन्दा बढि चिन्ता प्रहरी संगठनलाई सेनाले बेकम्मा बनाएर देश नै पंगु भएर नेपाली जनताले दुःख पाएकोमा उनलाई चिन्ता देखिन्छ । अच्युत कृष्ण खरेलको आत्म कथाको पाना नं. ७ ले र पाना नं. ८ ले प्रष्ट पारेको छ कि कसरी थरी थरी बनावटी कुरा बनाई बैठक बसाल्न खोजियो र कसरी बैठकमा गरेका कुरा तुहिएर गए ?
प्रहरी नेतृत्व वर्गले अझै पनि बुझ्नु पर्ने कुरा के पनि देखिन्छ भने आई.जी.पी. हुनु मात्र ठूलो कुरा होइन खरेल पछिका दिनहरुमा अधिकांश आई.जी.पी. हरु निस्कृय प्रकृतिका भएका देखिएका छन् । एउटा आई.जी.पी. हुँदा हुँदै अर्का आई.जी.पी. पनि हुन पुगेकै हुन् तर संगठन कता पुग्यो ? देशको अवस्था कस्तो भयो ? प्रहरी किन कसका लागि मारिए ? अवस्थाअनुसार साधन किन दिइएन ?
भारत लगायत विभिन्न देशहरुमा पनि हिंसात्मक राजनैतिक वार्ता नहुन्जेलसम्म प्रहरीले नै प्रचलित कानून अनुसार शान्ति शुरक्षा कायम गरेको हुन्छ । यसै अन्तर्राष्ट्रिय पद्धति मुताबिक किलो शेरा वन र किलो शेरा टु भन्ने गरिएका प्रहरीलाई कल संकेत नियमित गस्ती परिचालित गरिएको त हो । आफ्नो सामान्य कर्तव्य समेत पालना नगरी भविष्यमा १२ बुँदे सहमति हुन्छ भनेर पर्खेर बस्नु के नेपाल प्रहरीको धर्म हो त ? दैनिक सामान्य रुपले देशवासीको जनधनको सुरक्षा गर्न के पहल नै नगर्ने ?
भारतको कर्नाटक प्रान्तका कुख्यात विरप्पनले पनि सरकार सित वार्ता भएको भए नेतृत्व तहमा नै आउन सक्ने थियो । उसको पनि जनआधार आफ्नै प्रकारले राम्रो थियो तर वार्ता हुन पाएन प्रहरी कार्वाहीमा मारिन पुग्यो । त्यसबेलाका प्रहरी महानिर्देशक विजय कुमारले माग बमोजिमको साधन पाएर नै सफल हुन सके । आसामका प्रहरी महानिर्देक चमनलालले पनि सरकारले साधन सम्पन्न गराए पछि अमन चैन कायम गर्न सफल भए । जानकारकिो लागि चमनलाल पूर्व आई.जी.पी. हेम बहादुर सिंहका साथी रहेछन् । यस पंक्तिकारले यिनी दुवै महानिर्देशकहरु सित छलफल गर्न समय पायो । यसै गरी पंजावलाई स्थिर राख्न त्यहाँका प्रहरी माहानिर्देशक जुलियस फ्रेन्क रेवोरोले सरकारले माग बमोजिम साधन सम्पन्न गरे पछि मात्र पंजाब आफ्नो स्थितीमा आएको हो ।
प्रहरी नेतृत्व मानवीय समस्या बुझेर चल्नु पर्दछ । नेता मुखी मात्र भए जनतालाई शास्ती हुने कुरा नराम्रो परम्पराले डो¥याएको छ । अन्तमा अच्युत कृष्ण खरेलको आत्मकतालाई क्याप्टेन रामेश्वर थापाको बारुदमाथि उड्दा भन्ने किताबले एकदम छर्लङ्ग तरिकाले पुष्टि गर्दछ । यी सबै कृतिहरुबाट हामी यथार्थमा जान सके र निचोडमा पुग्न सके प्रहरीको जटिलतालाई ध्यान पूर्वक सजिलो पार्न भविष्यमा कदम चालिएला भन्ने सकारात्मक सोच राखेको छु ।
(साभार ः नयाँ पत्रिका)
(पंक्तिकार नेपाल प्रहरीका पूर्व डि.आई.जी. हुनुहुन्छ ।)