राष्ट्रपति हमिद नेपाल आउन इच्छुक
ढाका, बंगलादेश । इन्टरनेशनल अशोसियशन अफ पार्लायामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा भएको भेटमा आपसी हित, विश्व शान्ति तथा विश्व भातृत्वको बारेमा छलफल भएको ढकालका सहयोगी टिकाराज बिश्वकर्माले जानकारी दिए ।
भेटमा अध्यक्ष ढकालले केहि समय अघि नेपालमा सम्पन्न एशिया प्याशिफिक समिटको घोषणा पत्र राष्ट्रपति अब्दुल हमिदलाई प्रदान गरेका थिए । राष्ट्रपति अब्दुल हमिदले विश्व भातृत्व र शान्तिका खातिर समिट कोशेढुंगा साबित भएको भन्दै आयोजकहरुलाई बधाई दिएको ढकालका सहयोगी बि.कले जानकारी दिए । बि.कका अनुसार बिमस्टेक,एशिया प्याशिफिक समिट र इन्भेस्टमेन्ट समिट गरि निरन्तर तिन वटा शिखर सम्मेलन सफलताका साथ् नेपालमा सम्पन्न भएकोमा प्रधानमन्त्री केपी ओली र नेपाली जनतालाई राष्ट्रपतिले बधाई दिएका बताए । राष्ट्रपति हमिदले आफुले विश्वको धेरै देशको भ्रमण गरेपनि नजिकको मित्रराष्ट्र नेपाल जाने अवसर नमिलेको भन्दै नेपाल भ्रमणको लागि इच्छा पनि गरेको पनि बि.कले जानकारी दिए ।
करिब ४५ मिनेट भयको भेटबार्तामा निकट भविष्यमा विश्व स्तरमा गठन गर्न लागिएको “इन्टरनेशनल समिट काउन्सिल फर पिस“ मा बंगलादेशको सक्रिय सहभागिता लगायत बिषयमा छलफल भएको थियो । भेटमा सांसद तथा आइएपिपि बंगलादेशका अध्यक्ष काजी फिरोज रशिद साथै बंगलादेश सरकारका उच्च पदस्थ अधिकृतहरुको सहभागिता रहेको थियो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकाल आजै बङलादेश गएका थिए ।