काठमाडौं । सरकारले भूकम्पपीडितलाई आवास निर्माणको अनुदानमा वृद्धि गरी तीन लाख पु¥याउने तयारी गरेको छ ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले आवास निर्माणका लागि दुई लाख अनुदान दिने निर्णय गरेको थियो । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्, विकास समितिको सोमबारकोे बैठकमा उक्त जानकारी दिएका हुन् । उनले भने, ‘यही साताभित्र भूकम्पपीडितलाई आवास निर्माणका लागि एक लाख रुपैयाँ थप गर्ने निर्णय गर्न लागेको म जानकारी गराउन चाहन्छु ।’
दाहाल नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ४५ दिनभित्र आवास निर्माणका लागि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ सबै भूकम्पपीडित जनतालाई वितरण गर्ने निर्णयसमेत गरेको थियो ।
बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘४५ दिनभित्र पहिलो किस्ताबापतको रकम भूकम्पपीडितलाई वितरण गर्न मैले पटक–पटक प्राधिकरणलाई निर्देशन दिएको छु । यसमा आलटाल हुन्छ भने म हेलिकोप्टरमा पैसा राखेर वितरण गर्ने कार्यमा लाग्नेछु । यस्तो दिन आउन नदिनुहोस् ।’
समितिको सोमबारको बैठकले भूकम्पपीडित जनताको सुनुवाइ गर्न, भूकम्पपीडित सुकुम्बासी तथा ऐलानी जग्गामा बस्दै आएकाको समस्या १५ दिनभित्र सम्बोधन गर्न, पुनर्निर्माणमा आर्थिक अभाव हुन नदिन, भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न निर्माण सामग्री बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।