अब मोबाइलबाटै विद्युत महसुल तिर्नस्

प्रकासित मिति: १५ श्रावण २०७४, आईतवार ११:१८

काठमाडौं । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो ।

सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको जडान पछि अन्त्य हुनेछ । प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ । त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिनेछ ।
प्राधिकरणले रत्नपार्क र महराजगन्ज वितरण केन्द्रको प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यका लागि केही दिन पहिले मात्रै विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । प्राधिकरणले आगामी असोज ४ गतेसम्म बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बोलपत्रदातालाई भूमिगत वितरण प्रणालीको खाका, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने शर्त राखिएका छन् । प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएपछि त्यसमा ‘रेडियो फ्रिक्वेन्सी नेटवर्क’ जडान गरिने उपभोक्ताले घरको मिटरको विवरण प्राधिकरणको ‘डाटा प्रणाली’ मा पुर्याउन सक्नेछन् ।
सो प्रणालीको जडानपछि केन्द्रीय नियन्त्रण कक्षमै बसेर कुन ग्राहकको घरमा कति युनिट विद्युत् प्रयोग भयो र त्यसको महसुल कति उठ्यो भनेर हेर्न सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । वितरण प्रणाली भूमिगत गरी स्मार्ट मिटर जडान गरेपछि ग्राहकले यो सेवा लिन सक्नेछन् ।

Bhansar Bivag
Argakhachi Cement