नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह १४ः१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए ।
ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।
विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।
घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ ।
घाइतेको उपचार केएमसीमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४।१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ ।
उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन९ चालक०, प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।
यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।
नर्भिकमा पाँचको उपचार, दुई गम्भीर
सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।
विमानमा ३३ नेपाली–३४ विदेशी
दुर्घटनामा परेको विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए ।