काठमाडौं । असार १५ आज धान दिवस देशैभरी धान रोपेर मनाईदैछ । समयमै मनसुन सुरु भएपछि देशभर रोपाई भइरहेको छ किसानहरुका लागि असार मानो खाएर मुरी उब्जाउने समय हो । तर, शहरमा बसोबास गर्ने युवा पुस्ताले आज एक दिन रोपाई गरिएका ठाउँहरुमा गएर हिलो खेलेर रमाइलो गर्छन् ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । आज सरकारले धान दिवस पनि मनाइरहेको छ ।.भनिन्छ, असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षिन्छन् । माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुन्छन् । तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोपिन्छन् । हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेतभित्र छुपुछुपु धान रोप्न छिरेका खेतालालाई खाजा खेतमै ल्याइदिइने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।