नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा।बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टी पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।पार्टी एकीकरण बारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखी करण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गर्नुभएको हो ।
समाजवादी पार्टीले २०५२ सालपछि उदय भएका क्रान्तिकारी, पहिचानवादी र परिवर्तनकारी पार्टी, शक्ति र समूहलाई पार्टी एकतामा ल्याई आगामी चुनाव पछि देशको नेतृत्व गर्ने भट्टराईले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समाजवादी पार्टी अब ४०–५० सिटमा चित्त बुझाएर नेकपा वा कांग्रेसको पुच्छर बनेर २–४ जना मन्त्री खाने पार्टी बन्दैन् । देशभर संगठन बनाएर सरकारको नेतृत्व गर्ने हो ।’
कांग्रेसको पुँजीवाद र नेकपाको साम्यवाद दुबै विचारधारा विश्वमै असफल भइसकेको भन्दै उहाँले समाजवादी पार्टी विकल्प बन्ने दावी गर्नुभएको हो । संघीय परिषद अधयक्ष भट्टराईले भन्नुभयो ‘समाजवादी पार्टीको गठनसँगै नेकपा र कांग्रेसको दिनगन्ती शुरु भएको छ ।’
सत्तारुढ नेकपा र कांग्रेस एकल जातीय, एकल लिंगीय पार्टी भएको आरोप लगाउंदै भट्टराईले समाजवादी पार्टी नै वैचारिक ढंगले नयां र हिमाल, पहाड, तराई मधेसलाई जोड्ने समावेशी पार्टी भएको दावी गर्नुभएको छ ।