आज फागु पूर्णिमा मनाइँदै

प्रकासित मिति: १७ फाल्गुन २०७४, बिहीबार ०३:१५

मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । तर पछिल्ला वर्षहरुमा यस्तो समस्या हटेर गएको छ

मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गर्नुभएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गर्नुभएको हो ।

आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो । प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो ।

बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो ।

यसैबीच, बुधबार बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा अवस्थाको समीक्षासमेत गरेको छ । प्रजिअ केसीको अध्यक्षतामा बसेको बैठकमा आज र भोलि मनाइने होलीमा कुनै व्यवधान आउन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीति पनि तय गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा जिल्लाका सबै सुरक्षा अंगका प्रमुखको उपस्थिति थियो ।

Bhansar Bivag
Argakhachi Cement