संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गर्नुभएको छ । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव गुथ्रेसले सम्बन्धित सबैलाई ‘महत्वपूर्ण मौका’को सदुपयोग गर्न आग्रह गर्दै उत्तर कोरियाली आणविक कार्यक्रमलाई नष्ट गर्ने बिषयमा सफलता हासिल गर्न संयुक्त राष्ट्रसंघको सहयोग रहने बताउनुभएको छ ।
महासचिव गुथ्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सिङ्गापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न अग्रगामी कदम अर्थात् कोशेढुङ्गा सावित हुनेछ ।”
मङ्गलबार भएको ट्रम्प–किम सम्मेलनमा दुवै देशका नेताले हस्ताक्षर गरी जारी गरिएको संयुक्त विज्ञप्तिमा प्योङ्याङले कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न प्रतिवद्धता जाहेर गरेको छ । यद्यपि वक्तब्यमा आणविक कार्यक्रमलाई नष्ट गर्ने प्रतिवद्धता जनाइए पनि ‘प्रमाणित’ भन्ने शब्दावली भने समावेश छैन ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गनुभएको छ ।
सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध विस्तार, स्थायी शान्ति, युद्धबन्दीको खोजविन तथा रिहाइ लगायतका बिषयमा दुई नेताले प्रतिवद्धता जनाउनुभएको छ ।