आर्थिक समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य

प्रकासित मिति: २४ कार्तिक २०७३, बुधबार १५:०५

काठमाडौँ,  मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य रहे पनि त्यसका लागि उचित वातावरण बन्न नसकेको सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले औँल्याएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक अन्तक्र्रियामा उनीहरुले विदेशी लगानी भित्र्याउन राजनीतिक वातावरणका साथै नीतिगत सुधार गरिनुपर्ने बताए ।

साथै, उनीहरुले विदेशी लगानीसम्बन्धी पुरानो ऐन र नीतिलाई समयसापेक्ष परिमार्जन गरी उत्पादनशील क्षेत्रमा प्रोत्साहनका साथै विदेशी ठूला लगानी भित्र्याउने र स्वदेशी साना लगानीलाई प्रोत्साहन गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारको उद्देश्य विदेशी लगानी भित्र्याइ आर्थिक समृद्धिको मार्गमा अघि बढने रहेको भन्दै त्यसका लागि अहिलेसम्मका सम्पूर्ण संरचना पूर्णरुपमा परिवर्तन हुन जरुरी भएको खाँचो औँल्याउनुभयो ।

“सरकारको प्राथमिकता घरेलु तथा मझौला उद्योगको प्रवद्र्धन र विदेशी लगानी भित्र्याउने यी दुई काममा लागेको छ, विदेशी लगानीसँगै प्रविधि र अनुभव पनि आउने भएकाले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएकाले विद्यमान ऐन नीति नियमलाई परिमार्जन गरेर अघि बढ्छौँ”– उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि उपयुक्त वातावरण चाहिने र त्यसका लागि ऐन, कानुन परिवर्तनसँगै पूर्वाधार विकासमा जोड दिनुभयो ।

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले नेपालमा विदेशी लगानीको अवस्था राम्रो रहे पनि पछिल्लो अवस्थामा केही खस्केको भन्दै यस्तो अवस्था आउनुमा विद्यमान कानुनी जटिलता रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र वर्षामान पुनले मुलुकको राजनीतिक मिसन पूरा भई आर्थिक समृद्धिको गतिमा रहेको भन्दै यसलाई राष्ट्रिय एजेण्डाका रुपमा लैजाने प्रतिबद्धता जनाउनुभयो । यस्तै नेपाली काँग्रेसका नेता एनपी साउदले राजनीतिक वातावरण नहुनु कर्मचारीतन्त्रको प्रभाव र कानुनी जटिलताले विदेशी लगानी भित्रन नसकेको धारणा राख्नु भयो ।

पूर्वअर्थसचिव रामेश्वर खनालले मुलुकको राजनीतिक अस्थिरताले विदेशी लगानीको वातावरण खस्कँदै गएको टिप्पणी गर्नुभयो । उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडाले औद्योगिक व्यवस्थापन ऐन, मन्त्रालयगत झञ्झट, पूर्वाधार अभाव आदिले विदेशी लगानी प्रवद्र्धन हुन नसकेको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाल विदेशी लगानीका लागि उपयुक्त गन्तव्य भएकाले समयसापेक्ष ऐन नियम परिमार्जन गरी न्यूनतम मापदण्ड बनाएर लगानी भित्र्याइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले राजनीतिक अस्थिरता र कानुनी जटिलताले विदेशी लगानी भित्र्याउन कठिनाइ भइरहेको बताउनुभयो । बर्जर जेनसोन एन्ड निकलसनका देशीय निर्देशक साइबाल घोसले नीतिगत समस्यासँगै उत्पादनशील उद्योगका लागि कच्चा पदार्थको अभावले विदेशी लगानीमा समस्या भएको उल्लेख गर्नुभयो । सेजनका अध्यक्ष गोकर्ण अवस्थीले विदेशी लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सबैभन्दा बढी समस्या राजनीति भएको चर्चा गर्नुभयो ।

Bhansar Bivag
Argakhachi Cement