उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त

प्रकासित मिति: ८ कार्तिक २०७४, बुधबार ०६:३१

रामपुर, पाल्पा, ८ कात्तिक नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ ।

स्याङ्जाको मग्याम चिसापानीमा जन्मनुभएका महन्त गोपाल दुई वर्षको उमेरदेखि नै सधँै अर्काको सहारामा हुनुहुन्छ । पोलियो माइलाइटिस अर्थात् गाउँघरमा चलनचल्तीको भाषामा सैनेपात नामक रोगले बिरामी पर्नुभएका महन्त गोपाललाई परिवारले औषधि उपचारमा चासो नदिँदा उहाँ आफ्नो जीवनलाई अर्काको सहारामा व्यतीत गर्न बाध्य हुनुहुन्छ ।

“दुई वर्षको उमेरमा बिरामी भइयो, त्यतिबेला परिवार, आफन्त कसैबाट पनि औषधि उपचारमा ध्यान पुगेन, अहिले जीवनभर अपांग बनेर बसिरहेको छु” उहाँले भन्नुभयो । बाल्यकालदेखि नै जीवनलाई आध्यात्मिक क्षेत्रमा बिताउने प्रण गर्दै उहाँले संस्कृत माध्यममा पठनपाठन पूरा गरेपछि अहिले नेपाल निम्वार्क पीठ अर्थात् वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय केलादिधामका महन्त गुरु हुनुुहन्छ । उहाँले संस्कृत भाषामा आचार्यसम्मको अध्ययन गर्नुभएको छ ।

मृदुभाषी, शालिन स्वभावका, सबैसँगको सम्बन्ध र सहकार्यलाई आत्मीयताका साथ नजिक मान्ने सबैका प्रिय महन्त गुरु गोपाल शरण देवकै नेतृत्वमा केलादिधाम क्षेत्रको अस्तित्व अहिलेसम्म रहन सकेको छ ।

औषधि उपचारमा परिवारले सोधखोज नगरीदिँदा आफूलाई निकै दुःख लागेको गुनासो उहाँ गर्नुहुन्छ । दुईवटा खुट्टा नचल्दा अर्काको सहारा लिनुपरेकोमा आफूलाई कहिलेकाहीँ दुःख लाग्ने गरेको उहाँ बताउनुुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “खुट्टाले हिँड्न नसके पनि बसेर सबै काम मिलाएको छु, मन्दिर संरक्षण समितिले पनि सबै जिम्मा मलाई सुम्पिएको छ ।” “मैले राम्रो सेवा पाएको छु, बाहिर पूजाआजा सप्ताह महायज्ञ लगाउन जान प¥यो भने पनि सबैले लैजाने, ल्याउने गर्नुहुन्छ” उहाँले भन्नुभयो ।

उहाँको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै केलादिधाम संरक्षण समितिले स्याहार सुसारका लागि हेरालुको व्यवस्था मिलाएको सचिव लेखनाथ बस्ताकोटीले बताउनुभयो ।

यहाँका स्थानीयवासी र मन्दिर संरक्षण समितिको माया, ममता, सहयोग, सत्कार सेवाप्रति महन्त गोपाल सधैँ खुशी हुनुहुन्छ । “सानै उमेरमा यहीँ आएँ, यहीँबाट बाहिर पढ्न गएँ, पढाइ सकिएपछि यहीँ आएर मन्दिरको सेवा गरिरहेको छु” महन्त गोपालशरण देवले भन्नुभयो ।

उहाँ अहिले उमेरले ६८ वर्ष पुग्नुभयो । आध्यात्मिक भक्तिभावले मनलाई सधँै सुखी र खुशी तुल्याउने हुँदा जीवनलाई भगवान्का नाममा एकाग्र भएर बिताउने उहाँको अठोट छ । पारिवारिक सांसारिक बन्धनबाट टाढा रहेर जीवनलाई धार्मिक क्रियाकलाप गरेर बिताउने चाहनाअनुरुप नै उहाँको दिनचर्या बितिरहेको छ ।

पोलियो माइलाइटिस नामक रोग पोलियो भाइरसका कारण पाँच वर्षमुनिका बालबालिकालाई लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

महन्त गुरु गोपालशरण देव त एउटा प्रतिनिधि पात्र हो । उहाँ जस्ता कैयौँ व्यक्ति औषधि उपचारको अभावमा आफ्नो जीवनलाई सधैँ अर्काको सहारामा व्यतीत गर्न बाध्य छन् । आर्थिक अभाव, अशिक्षा, अन्धविश्वासका कारण धेरैले जीवनलाई अरुको सहाराको भरमा बिताइरहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement