काठमाडौं। उपत्यकामा वर्षा मौसम सुरु भएसँगै फैलिएको हैजाको संक्रमण अझै कायमै छ । हैजा नियन्त्रणमा आउन समय लागेसँगै बिरामीको संख्या पनि बढ्दै गएको छ ।
यो वर्ष राजधानीमा दुई महिनाअघि काठमाडौंको बाफलमा हैजाका बिरामी फेला परेका थिए । प्रकोप कम हुँदै गए पनि काठमाडौंको थानकोट क्षेत्रमा भने अझै हैजाको प्रकोप यथावत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले अधिकांश ठाउँमा हैजा नियन्त्रणमा आउने क्रममा रहेको महाशाखाको भनाइ छ ।
यो वर्ष ललितपुरमा १ सय १०, काठमाडौंंमा १९ र भक्तपुरमा एक जनामा हैजाको जिवाणुु भेटिएको छ । पछिल्लो पटक यही भदौ १७ गते पनि पाँच जनामा हैजा पुष्टि भइसकेको छ । यो वर्ष राजधानीमा दूषित पानीका कारण हैजा फैलिएको इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माले बताए । दुई महिनाअघि बाफलमा दूषित खानेपानीका कारण दुई जनामा हैजा देखापरेको थियो । त्यसैगरी ललितपुरको लगनखेल, गोदावरी, धापाखेल, बालकुमारीमा हैजा फैलिएको थियो । महाशाखाका अनुसार ललितपुरको बंगलामुखीमा ढुंगेधाराको पानीका हैजाको किटाणु फेला परेको थियो भने ओकुबहाल पाटनमा घरको पानी ट्यांकीमा हैजाको किटाणु देखापरेको थियो । सुनाकोठीमा भने धाराबाट वा खानका लागि संकलन गरी राखिएको पानीमा हैजाका किटाणु भेटिएको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख शर्माका अनुसार बंगलामुखीमा रहेको ढुंगेधाराको पानी प्रयोग गर्ने रोक लगाइएको छ ।
शर्माका अनुसार राजधानीमा खानेपानी नै अयोग्य भएका कारण हैजाको प्रकोप फैलिने गरेको छ । महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना संकलन गर्दै पानी उमालेर वा शुद्धिकरण गरेर पिउन आग्रह गरेको छ । लगातार पातलो दिसा हुने रोगलाई बोलचालका भाषामा झाडापखाला भनिन्छ । रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरा नामक जिवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सकको भनाइ छ । हैजाको जिवाणु शरीरमा प्रवेश गरेपछि दुई घन्टादेखि पाँच दिनसम्ममा संक्रमण देखापर्छ । यसको संक्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ । समयमै उपचार नपाए बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ । पानीमा देखा पर्ने हैजाले तुरुन्तै संक्रमण फैलिन सक्ने भएकाले यसबाट सचेत रहन महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी हरेक वर्ष हैजा फैलिन गरेको र त्यसको रोकथाम गर्न स्वास्थ्यकर्मीको परिचालन गर्न थालिएकाले यो वर्ष हैजाको प्रकोपले उग्र रूप लिन नपाएको जनाएको छ ।