रोल्पा, नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समितिले वडालाई आधार मानी विकास गतिविधि सञ्चालन गर्ने गर्दछन् ।
तर रोल्पा जिल्लाको थवाङ गाविसमा भने वडाको सट्टा एकाइ नामाकरण गरी कामकाज हुने गरेको छ । गुजुमुज्ज बस्ती रहेको मगर गाउँ थवाङले वडा विभाजन अव्यावहारिक रहेको भन्दै एकाइको अवधारणाअनुसार कामकाज गर्ने गरेको छ ।
गाउँ परिषद्का लागि योजना तर्जुमा गर्दा होस् वा विकास बजेट विनियोजन गर्दा होस् एकाइलाई नै आधार मान्ने गरिन्छ । स्थानीयले वडा संरचनाभन्दा एकाइलाई सहजै बुझ्ने गरेको थवाङका रमिला रोकाले बताउनुभयो ।
गाविसमा नौ वटा वडा हुने भए पनि थवाङले भने १० वटा एकाइ बनाएको छ । हरेक एकाइमा निर्वाचन गरी प्रमुख समेत चुन्ने गरिन्छ । गाउँमा मुद्दा मामिला मिलाउने, विकासको योजना तर्जुमा गर्ने जस्ता काम तिनै प्रमुखको नेतृत्वमा हुने गर्दछ ।
देशमै फरक ऐतिहासिक विशेषता बोकेको भन्दै थवाङलाई स्थानीय तह पुनःसंरचना गर्दा स्वायत्त क्षेत्रको रुपमा सिफारिस गरिएको छ ।